पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाउँदै चौथो दिनसम्म एक सय पाँच ओटा संरचना हटाएको छ ।
खोलाको प्राकृतिक बहाव पुनःस्थापना गर्ने र दीर्घकालीन रूपमा व्यवस्थित सहरी संरचना निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गत बुधबार मात्रै २३ ओटा साना-ठूला संरचना हटाइएको जनाएको छ।
महानगरका अनुसार पोखरा-१८ र २ को सिमाना क्षेत्रमा आठ ओटा संरचना हटाइएका छन् भने ४ र ५ मा एउटा पक्की तथा तीन ओटा कच्ची संरचना भत्काइएको छ ।
यसैगरी पोखरा-७ र ८ मा पाँच ओटा कम्पाउन्ड वालसहित छ ओटा स्थायी संरचना हटाइएको महानगरले जनाएको छ ।
फिर्केखोलाको दायाँबायाँ बनाइएका घर, टहरा, पर्खाल र अन्य भौतिक संरचनाले खोलाको प्राकृतिक बहाव साँघुरो बनाएको, वर्षायाममा डुबानको जोखिम बढाएको तथा सहरी सौन्दर्यमा असर पारेको भन्दै महानगरले चरणबद्ध रूपमा हटाउने अभियान अघि बढाएको हो ।
अभियानका क्रममा तीन जेसीभी र दुई एक्स्काभेटर प्रयोग गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, महानगरीय प्रहरी तथा प्राविधिक कर्मचारीहरू परिचालन गरिएका छन् ।
महानगरपालिकाले फिर्केखोला करिडोरलाई भविष्यमा पर्यटकीय तथा हरित क्षेत्रका रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरेको छ ।
महानगरका अनुसार खोला किनार क्षेत्रमा साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रवर्द्धन, विश्रामस्थल तथा आधुनिक बत्ती व्यवस्थासहित सुरक्षित सहरी पर्यटकीय मार्ग निर्माण गरिनेछ ।
महानगर प्रमुख धनराज आचार्यले यसअघि फिर्केखोलालाई अव्यवस्थित बस्ती र अतिक्रमणबाट मुक्त गरी “पोखराको नयाँ हरित पहिचान” बनाइने बताएका थिए ।
महानगरले प्राकृतिक खोला क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियानलाई आगामी दिनमा सेती नदी आसपासका क्षेत्रमा समेत विस्तार गर्ने संकेत दिएको छ ।




