ढाका । बंगलादेशको टांगेल क्षेत्रमा भएको ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
राजधानी ढाकाबाट करिब ९७ किलोमिटर टाढा रहेको क्षेत्रमा रड बोकेको ट्रक अनियन्त्रित भएर पुल नजिकैको खाल्डोमा पल्टिँदा दुर्घटना भएको हो ।
मृतकहरू आगामी मे २८ मा मनाइने मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल–अधा मनाउन उत्तरी जिल्लातर्फ जाँदै गरेका यात्रु रहेको जनाइएको छ ।
रडसँगै यात्रु बोकेको उक्त ट्रकका चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।
दुर्घटनामा घाइते भएका ६ जनाको उपचार भइरहेको छ । उनीहरूको अवस्था तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



