काठमाडौँ । भारतको उत्तर क्षेत्रमा विगत २४ घण्टामा आएको भारी वर्षा, हावाहुरी र चट्याङका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सबैभन्दा बढी प्रभावित उत्तर प्रदेश मा ठूलो जनधनको क्षति भएको छ । भारी वर्षासँगै आएको असिना र तीव्र हावाहुरीले जनजीवन प्रभावित बनेको छ ।
विपद्का कारण विभिन्न जिल्लामा घर, पशुचौपाया र अन्य भौतिक संरचनामा क्षति पुगेको छ । हजारौँ रुख ढलेका छन् भने कतिपय स्थानमा पर्खाल भत्किँदा च्यापिएर मानिसहरूको मृत्यु भएको जनाइएको छ ।
प्रयागराज जिल्ला सबैभन्दा बढी प्रभावित बनेको छ । त्यहाँ मात्रै करिब २० जनाको मृत्यु भएको बताइएको छ ।
योगी आदित्यनाथ ले सबै जिल्लाका राहत आयुक्तलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य अघि बढाउन निर्देशन दिएका छन् ।
साथै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।




