काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने उच्चस्तरीय भ्रमणका लागि बिहीबार चीन प्रस्थान गरेका छन् ।
ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने बहुप्रतीक्षित भेटवार्तामा व्यापार, प्रविधि र द्विपक्षीय सम्बन्धका विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ । ट्रम्पले व्यापारलाई वार्ताको मुख्य एजेन्डा हुने संकेत दिएका छन् ।
यो ट्रम्प र सीबीचको नवौँ प्रत्यक्ष भेटवार्ता हो । साथै, सन् २०१७ पछि कुनै अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण पनि हो ।
ह्वाइट हाउसका अनुसार अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प भ्रमणमा सहभागी हुने छैनन् ।
चीन प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भ्रमणप्रति आशावादी रहेको बताएका छन् । उनले आगामी धेरै दशकसम्म चीनसँग बलियो सम्बन्ध कायम रहने विश्वास व्यक्त गरे ।
‘राष्ट्रपति सीसँग मेरो सम्बन्ध निकै राम्रो छ । हामी सधैं राम्रोसँग मिलेर काम गरेका छौँ,’ ट्रम्पले भने ।
इरानसँग सम्भावित सम्झौतामा सी जिनपिङले भूमिका खेल्न सक्ने विषयमा सोधिएको प्रश्नमा ट्रम्पले इरानलाई सैन्य रूपमा कमजोर बनाइएको दाबी गर्दै अमेरिका आफ्नो लक्ष्य हासिल गर्न सक्षम रहेको बताए ।
ट्रम्पले चीनसँग हुने वार्तामा व्यापार सबैभन्दा महत्वपूर्ण विषय रहने पनि दोहोर्याए ।
भ्रमणमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथलगायत उच्च अधिकारी सहभागी छन् ।
यस्तै, प्रविधि, वित्त, रक्षा तथा उपभोक्ता क्षेत्रका प्रमुख अमेरिकी कम्पनीका प्रतिनिधिहरू पनि अमेरिकी प्रतिनिधिमण्डलमा सहभागी रहेको जनाइएको छ ।




