काठमाडौँ । सर्वोच्च अदालतको ३२औँ प्रधानन्यायाधीश नियुक्तिका लागि आज संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक साँझ ५ बजेका लागि बोलाइएको हो ।
गत चैत १७ गते तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण अवकाश पाएसँगै सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त रहेको छ । राउत २०८१ असोज २० गते प्रधानन्यायाधीश नियुक्त भएका थिए ।
उनको अवकाशपछि सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी छन् । तर एक महिनाभन्दा बढी समय बितिसक्दा पनि उनी पूर्णकालीन प्रधानन्यायाधीश बन्न सकेकी छैनन् ।
न्यायपरिषद्ले यसअघि नै सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।
संवैधानिक परिषद्को बैठकले यीमध्ये तीन जनाको नाम सिफारिस गर्नेछ, जसपछि संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी एक जनालाई प्रधानन्यायाधीशका रूपमा नियुक्त गरिने संवैधानिक व्यवस्था छ ।
यसबीचमा सरकार परिवर्तन र परिषद्का सदस्यहरूको पूर्ति हुन नसक्दा बैठक समयमै बस्न सकेको थिएन, जसका कारण सर्वोच्च अदालतमा नेतृत्व रिक्तता लम्बिएको हो ।
सिफारिस र नियुक्ति प्रक्रियाबारे राजनीतिक विवाद र आरोप–प्रत्यारोप पनि देखिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘खल्तीबाट नाम झिकेर’ प्रधानन्यायाधीश चयन गर्न खोजिएको आरोप लगाएको छ ।
यस्तै विभिन्न राजनीतिक दल र समूहबाट पनि लबिइङ तथा दबाब सिर्जना भइरहेको चर्चा चलेको छ । तर सरकार पक्षले भने औपचारिक छलफल वा निर्णय नभएको बताउँदै आएको छ ।
अब बस्ने संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको भावी नेतृत्वबारे निर्णायक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।




