काठमाडौँ। कांग्रेस सभापति गगन थापाले सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्न ठूलो प्रपञ्च रचिरहेको आरोप लगाएका छन् ।
बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले आफ्नो अनुकूल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन जालझेल गरिरहेको भन्दै आपत्ति जनाए ।
उनले बिहीबार साँझ ५ बजे संवैधानिक परिषद्को बैठक बोलाइएको उल्लेख गर्दै उक्त बैठकबाट पूर्वनिर्धारित नाम पारित गराउने तयारी भइरहेको दाबी गरे।
उनका अनुसार प्रधानमन्त्री, सभामुख र कानूनमन्त्रीको बहुमतका आधारमा निर्णय गराएर “खल्तीबाट निकालिएको नाम” प्रधानन्यायाधीश बनाउने प्रयास भइरहेको छ ।
सभापति थापाले यस्तो कदमले संवैधानिक परिषद्को मर्ममाथि प्रहार हुने बताए । उनले परिषद्लाई नियन्त्रणमा राख्न सरकार योजनाबद्ध रूपमा अघि बढेको आरोपसमेत लगाए ।
उनले विगतमा पनि प्रधानमन्त्रीले आफ्ना अनुकूल व्यक्तिलाई नियुक्त गर्न खोज्दा आफूहरूले रोक्न सफल भएको तर यसपटक अध्यादेश ल्याइएकाले रोक्न नसकेको बताए । यस विषयमा नेपाली कांग्रेस को गम्भीर आपत्ति र प्रश्न दुवै रहेको उनले बताए ।




