Nidan Media

अनुशासन उल्लंघनमा कारबाही : कांग्रेसद्वारा रामेछाप सभापति तामाङ निलम्बित

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

तारामान गुरुङको संयोजकत्वमा आइतबार बसेको समितिको बैठकले अनुशासन उल्लंघनसम्बन्धी विषयमा यस्तो निर्णय गरेको हो ।

समितिका अनुसार तामाङले पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्वक भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा यसअघि स्पष्टिकरण सोधिएको थियो ।

उनले दिएको जवाफ प्रारम्भिक रूपमा सन्तोषजनक नदेखिएकाले थप अनुसन्धान आवश्यक ठहर गरिएको छ ।

अनुसन्धान प्रभावित हुन सक्ने भन्दै अन्तिम निर्णय नभएसम्मका लागि उनलाई सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गरिएको समितिले जनाएको छ ।

त्यस्तै, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सम्बन्धित स्पष्टीकरण प्रक्रिया सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलापछि औचित्य समाप्त भएको भन्दै तामेलीमा राख्ने निर्णय गरिएको छ ।

यस्तै, २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएको भनिएको अनुशासन उल्लंघनसम्बन्धी उजुरीहरूको वर्गीकरण गरिएको छ ।

आरोपित व्यक्तिहरूसँग कांग्रेस विधानअनुसार सात दिनभित्र स्पष्टिकरण माग्ने निर्णय पनि गरिएको समितिले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.