सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ वैशाख १६ गते बुधबार, इस्वीसंवत अप्रिल २९ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको त्रयोदशी तिथि रातिमा ८ः४७ बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ। नक्षत्रमा हस्ता रातिमा १२ः३६ बजेसम्म त्यसपछि चित्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा हर्षण ३९ घटि ५८ पलासम्म त्यसपछि वरियान योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा आनन्द रहनेछ ।
सूर्य मेष राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३२ घटि ४८ पला अर्थात १३ घण्टा ०९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः२९ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने दिनमा ४ः३६ बजे र अस्ताउने समय रातिमा ३ः४६ बजे रहेको छ । आज प्रदोष व्रत गर्ने दिन र अन्तर्राष्ट्रिय नृत्य दिवस रहेको छ।
आजको राशिफल
मेषः आज धार्मिक र आध्यात्मिक कार्यमा विशेष रुचि बढ्नेछ। मनमा शान्तिको अनुभव हुनुका साथै नयाँ सकारात्मक ऊर्जा प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट मनग्ये धनलाभ हुनेछ । कार्यक्षेत्रमा उत्साह र आत्मविश्वास बढ्नेछ। घरका सदस्यहरूसँग बसेर महत्वपूर्ण निर्णयहरू लिन सकिनेछ। पुरानो रोगबाट केही राहत महसुस हुनेछ। खानपानमा सन्तुलन मिलाउनु भयो भने शरीरमा अझ बढी स्फूर्ति बढ्नेछ । साँझपख घरमा कुनै मांगलिक कार्य हुनेछ । स्वास्थ्यको दृष्टिकोणले आजको दिन अनुकूल छ।
वृषः आज आफन्त र मान्यजनको आशीर्वादले तपाईँको आत्मबल बढाउनेछ। सामाजिक कार्यक्रममा तपाईँको उपस्थिति अर्थपूर्ण रहनेछ। व्यापार तथा व्यवसायमा गरिएको लगानीबाट सन्तोषजनक लाभ मिल्नेछ। नयाँ क्षेत्रमा लगानी विस्तार गर्न आजको दिन उपयुक्त रहेको छ। जीवनसाथीसँगको असमझदारी हटेर जानेछन्। लामो समयदेखि थाती रहेका कामहरूले गति लिनेछ। आज मनोरञ्जनका क्षेत्रमा पनि केही खर्च हुन सक्ने देखिएको छ। आज टाढाको धार्मिक यात्रा हुनेछ तर यात्रामा आफ्नो धनमालको सुरक्षामा ध्यान दिनुपर्नेछ ।
मिथुनः आजको समय निकै अनुकूल देखिन्छ। धार्मिक क्षेत्रबाट मान–सम्मान प्राप्त हुने योग रहेको छ। तपाईँले गरेको सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । जसले तपाईँलाई आत्मसन्तुष्टि दिनेछ। भविष्यका लागि लिइने दीर्घकालीन निर्णयले पछि राम्रो प्रतिफल दिन सक्नेछ। सिर्जनात्मक काममा मन जानेछ। तर साँझपख केही मानसिक थकान महसुस हुन सक्छ। खानपान र यात्रामा सतर्क हुन आवश्यक छ । आज यात्रा, आर्थिक कारोबार र साथीसँगको झगडाबाट टाढा रहनुहोला ।
कर्कटः आजको दिन साहसी र महत्वपूर्ण निर्णय लिनका लागि उपयुक्त रहेको छ। परिवारका सदस्यहरूबीच सुमधुर सम्बन्ध कायम रहनेछ। घरमा सुख र सुविधाका साधन थपिने छ। स्वास्थ्यमा पनि उल्लेख्य सुधार हुनेछ। प्रेम जीवनमा रमाइलोपन बढ्नेछ भने प्रेमिल यात्राको सम्भावना पनि रहेको छ। नयाँ कार्यको थालनी गर्नका लागि आजको दिन उपयुक्त रहेको छ। आर्थिक लाभको क्षेत्र फराकिलो हुनेछ। लामो समयदेखि रोकिएको पैसा हात पर्न सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
सिंहः आज पारिवारिक जीवनमा केही उतारचढाव आउन सक्छ। तपाईं धैर्य र सहनशिल हुन आवश्यक छ । आज आर्थिक अवस्था मध्यम रहनेछ। आम्दानी र खर्चको सन्तुलन मिलाउन निकै कठिन हुनेछ। व्यापारमा नयाँ लगानी गर्नुभन्दा पुरानो कारोबारलाई व्यवस्थित बनाउन आवश्यक छ । साथीको कुरालाई शंकाको दृष्टिले हेर्दा दूरी बढ्न सक्नेछ। विद्यार्थीले अध्ययनमा थप ध्यान दिनुपर्ने देखिन्छ। सामाजिक काम गर्दा पनि आलोचना सुन्नुपर्नेछ । आज खानपान र मित्रसँग भेटघाट हुँदा निकै सतर्क हुनुहोला ।
कन्याः आज पारिवारिक कलह हुन सक्ने देखिएको छ। घरमा शान्तिको वातावरण बनाउन तपाईंले प्रयास गर्नुपर्नेछ। आफन्तसँगको भेटघाटमा पनि तनाव उत्पन्न हुनेछ । कामको धपेडीले मानसिक तनाव बढ्न सक्नेछ। शैक्षिक क्षेत्रबाट राम्रो नतिजा नआउँदा विद्यार्थीलाई पनि तनाव हुनेछ । आज घरबाट निस्कँदा मातापिताको आशिर्वाद लिनुभएमा राम्रो हुनेछ । आज सवारी साधन चलाउँदा या नयाँ व्यवसायीमा हात हाल्दा निकै सचेत हुनुहोला ।
तुलाः आज लामो समयपछि पुराना मित्रहरूसँग भेटघाट हुनेछ । रचनात्मक कार्यहरूमा रुचि बढ्नेछ र त्यसबाट सन्तुष्टि मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आज उपहार वा पुरस्कार प्राप्तिको योग पनि रहेको छ, जसबाट आर्थिक अवस्था थप मजबुत हुनेछ । प्रेम जीवन सरल रहनेछ । घरका सदस्यबाट पूर्ण सहयोग र सद्भाव पाइनेछ। शरीरमा नयाँ ऊर्जा र स्फूर्ति रहनेछ। कला, संगीत र साहित्यको क्षेत्रमा रुचि बढ्नाले मनमा सकारात्मक विचार प्रवाह हुनेछ। तर वैदेशिक यात्रामा तनाव हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
वृश्चिकः आज शत्रुहरू सक्रिय हुने दिन रहेको छ । आफ्नो गोपनीयतामा निकै ध्यान दिनुहोला । स्वास्थ्यमा पनि उतारचढाव आउन सक्नेछ। बाहिरको खानपानबाट टाढा रहनुहोला । सवारी साधन चलाउँदा वा यात्रा गर्दा पनि विशेष सतर्कता अपनाउनुहोला । आज हतारमा कुनै पनि काम नगर्नुहोला। आम्दानीको तुलनामा खर्च बढी हुनाले तनाव बढ्ने ग्रहगोचर रहेको छ । विद्यार्थीले कडा परिश्रम गर्नुपर्ने दिन रहेको छ। आज जुनसुकै काममा मेहेनत गरेमा सफलता मिल्नेछ।
धनुः आजको दिन निकै भाग्यशाली रहनेछ। धार्मिक र आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक कार्यमा पनि तपाईंको सक्रियता बढ्नेछ। धेरै दिनदेखि रोकिएको पैसा हात पर्नेछ। कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। नयाँ योजनाहरू स्वीकृत हुनेछन् र माथिल्लो ओहोदाका व्यक्तिहरूबाट सहयोग मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। जीवनसाथी र सन्तानबाट पूर्ण सहयोग प्राप्त हुनेछ।
मकरः आज नयाँ पदभार वा ठूलो जिम्मेवारी प्राप्त हुने छ। आर्थिक रूपमा उन्नति हुनेछ। व्यापारिक यात्रा सफल र लाभदायक रहनेछ। परिवारका सदस्यको भावनालाई सम्मान गर्दा सम्बन्ध राम्रो रहनेछ। स्वास्थ्यका दृष्टिकोणले दिन सामान्य रहने छ। खानपानमा विशेष ध्यान दिन आवश्यक छ । अत्यधिक कामको धपेडीले थकान महसुस हुन सक्नेछ। विद्यार्थीका लागि शैक्षिक सफलता मिल्ने छ भने अध्ययनमा रुचि बढ्नेछ।
कुम्भः आज यसअघि रोकिएका पुराना लेनदेनहरू सुल्झिनेछन्। पारिवारिक सम्बन्ध सुदृढ रहनेछ। घरमा नयाँ पाहुनाको आगमन हुन सक्नेछ । साथीभाइको सहयोगले अधुरा कामहरू समयमै सम्पन्न हुनेछन्। स्वास्थ्यमा निकै राम्रो सुधार आउनेछ। जसले मानसिक तनाव हट्नेछ । प्रेम जीवन सुखद् र सौहार्दपूर्ण रहनेछ। नयाँ सम्बन्ध सुरु गर्न चाहनेहरूका लागि पनि समय अनुकूल रहको छ।
मीनः आज अरूको कुरामा धेरै विश्वास नगर्नुहोला। आम्दानी भए पनि आर्थिक पक्षमा केही उतारचढाव आउने ग्रहगोचर रहेको छ। पारिवारिक वातावरणमा केही तनाव देखिन सक्छ। घरका सदस्यहरूसँगको सानो विवादले मन दुखाउन सक्छ। त्यसमा शान्त रहनु उत्तम हुनेछ। आज आफ्नै स्वास्थ्यमा हेलचेक्र्याइँ नगर्नुहोला। विद्यार्थीहरूले अध्ययनमा थप ध्यान र समय दिनुपर्ने देखिएको छ।
साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः२६ बजेदेखि ७ः०५ बजेसम्म लाभ बेला
बिहान ७ः०५ बजेदेखि ८ः४३ बजेसम्म अमृत बेला
बिहान ८ः४३ बजेदेखि १०ः२२ बजेसम्म काल बेला
बिहान १०ः२२ बजेदेखि १२ः०१ बजेसम्म शुभ बेला
मध्यान्हमा १२ः०१ बजेदेखि १ः४० बजेसम्म रोग बेला
दिनमा १ः४० बजेदेखि ३ः१८ बजेसम्म उद्धेग बेला
दिनमा ३ः१८ बजेदेखि ४ः५७ बजेसम्म चर बेला
दिनमा ४ः५७ बजेदेखि ६ः३६ बजेसम्म लाभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः३६ बजेदेखि ७ः५७ बजेसम्म अमृत बेला
साँझ ७ः५७ बजेदेखि ९ः१८ बजेसम्म काल बेला
राति ९ः१८ बजेदेखि १०ः३९ बजेसम्म शुभ बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म रोग बेला
राति १२ः०० बजेदेखि १ः२२ बजेसम्म उद्धेग बेला
राति १ः२२ बजेदेखि २ः४३ बजेसम्म चर बेला
रातिमा २ः४३ बजेदेखि ४ः०४ बजेसम्म लाभ बेला
रातिमा ४ः०४ बजेदेखि ०५ः२५ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





