काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरिएको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा नेता चयन गर्न निर्देशन दिएपछि शुक्रबारका लागि तय गरिएको निर्वाचन प्रक्रिया रोकिएको हो।
निर्वाचन समिति संयोजक प्रकाश रसायली स्नेहीले कार्यसम्पादन समितिको निर्णयअनुसार प्रक्रिया स्थगित गरिएको जानकारी दिए।
उनका अनुसार दलको नेता सर्वसम्मत रूपमा चयन गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।
कार्यदलमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिको समेत सहभागिता रहनेछ।
पार्टीले लोकतन्त्र, संविधान र संगठनमाथि आएका चुनौतीको सामना गर्न दलको नेता सर्वसम्मत रूपमा चयन गर्नु आवश्यक रहेको जनाएको छ। सोही उद्देश्यले शनिबार साँझसम्म सहमति जुटाउने जिम्मेवारी कार्यदललाई दिइएको छ।
संयोजक रसायलीले पार्टीको वृहत्तर हितका लागि सहमतिमै नेता चयन गर्ने प्रयास भइरहेको बताएका छन्।
साथै, सभापतिले नेताहरूसँग आवश्यक छलफललाई तीव्रता दिने पनि उनले उल्लेख गरेका छन्।
यसैबीच, सभापति गगनकुमार थापाले सांसद मोहन आचार्यलाई अगाडि सारेका छन् भने उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई समर्थन गरेका छन्।
अर्का नेता अर्जुननरसिंह केसीले सहमति नभए आफू उम्मेद्वार बन्ने संकेत दिएका छन्।
नेताहरूबीच फरक-फरक प्रस्ताव अगाडि आएपछि कांग्रेसभित्र संसदीय दलको नेता चयन प्रक्रिया थप पेचिलो बन्दै गएको छ।




