काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले आज पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौँको नागार्जुन नगरपालिका-८ बस्ने गोल्छालाई नक्सालबाट पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।
गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा सोही ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले बताए ।
धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्यूरोमा प्राप्त हुन आएकाले सोही आधारमा आजै काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिइ पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ ।
यसअघि उनी बिहानै पक्राउ परेको भनी सामाजिक सञ्जालमा हल्ला चलाइएको थियो । गोल्छा स्वयंले आफू कार्यालयमै बसेर काम गरिरहेको बताएका थिए ।




