काठमाडौँ । इन्डियन प्रिमियर लिगअन्तर्गत चौथो खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई तीन विकेटले पराजित गरेको छ।
मुल्लांपुरमा मङ्गलबार सम्पन्न खेलमा टस जितेर पहिले बलिङ रोजेको पञ्जाबले गुजरातलाई १६२ रनमा समेट्न सफल भयो।
जवाफमा पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै सिजनको सुखद सुरुआत गर्यो।
पञ्जाबको जितका नायक अष्ट्रेलियाका डेब्यु खेलाडी कूपर कोनोली बने। उनले पहिलो खेलमै ७२ रनको अविजित र विस्फोटक इनिङ्स खेल्दै टोलीलाई हारको स्थितिबाट उकासे।
एक समय १०९ रनमा २ विकेट गुमाएको पञ्जाब ११८ रनमा ६ विकेट गुमाएर दबाबमा परेको थियो।
१४४ रनमा सातौँ विकेट खसेपछि टोली संकटमा देखिए पनि कोनोलीले संयमित खेल प्रस्तुत गर्दै अन्तिमसम्म टिके।
उनले अन्तिम ओभरको पहिलो बलमा वासिङ्टन सुन्दरलाई चौका प्रहार गर्दै जित सुनिश्चित गरे।
कोनोलीलाई जेभियर बार्टलेटले ५ बलमा ११ रन जोड्दै साथ दिए।
गुजरातका लागि कप्तान शुभमन गिलले ३९ तथा जोस बटलरले ३८ रन बनाए।
बलिङतर्फ प्रसिद्ध कृष्णाले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
पञ्जाबका लागि विजयकुमार वैशाखले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए।
यो जितसँगै पञ्जाबले आईपीएल सिजनको सुखद् सुरुआत गरेको छ।





