Nidan Media

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज १३ फेब्रुअरीका दिन विश्वभर विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सूचना, शिक्षा र मनोरञ्जनको प्रभावकारी माध्यमका रूपमा रेडियोले पुर्‍याएको योगदानको सम्मानस्वरूप हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

सन् २०११ मा युनेस्कोले १३ फेब्रुअरीलाई विश्व रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको हो। विश्वभरका रेडियोकर्मी, सञ्चार संस्था र श्रोताहरूले आजका दिन विशेष कार्यक्रम, अन्तरक्रिया तथा सचेतनामूलक गतिविधि आयोजना गर्ने गर्दछन्।

रेडियोको आविष्कार सन् १८९४ मा इटालीका वैज्ञानिक गुग्लिएल्मो मार्कोनीले गरेका थिए । तारबिनाको माध्यमबाट ध्वनि प्रसारण गर्न सकिने प्रविधिले सञ्चार क्षेत्रमा क्रान्ति ल्याएको थियो। समयक्रममा शर्टवेभ, मिडियमवेभ हुँदै एफएम र डिजिटल प्रविधिसम्म रेडियो विस्तार भएको छ ।

नेपालमा पनि रेडियोको आफ्नै ऐतिहासिक महत्व छ । रेडियो नेपाल स्थापना भएपछि देशभर सूचना प्रवाहको सशक्त माध्यमको रूपमा रेडियो विकसित भएको हो। राजनीतिक परिवर्तन, जनआन्दोलन तथा विपद्का समयमा रेडियोले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

विशेषगरी वि.सं. २०७२ को भूकम्पका बेला अन्य सञ्चार माध्यम प्रभावित हुँदा रेडियोमार्फत देशभर सूचना आदान–प्रदान गरी उद्धार तथा राहत कार्यलाई सहज बनाइएको थियो।

प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म विस्तार भए पनि रेडियो अझै विश्वसनीय, सुलभ र प्रभावकारी सञ्चार माध्यमका रूपमा स्थापित रहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.