काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ ।
उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि आजदेखि मौसम खुल्ने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।
आज तराई भूभागका धेरै स्थानमा हुस्सु-कुहिरो रहने, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपात/वर्षाको हुन सक्ने जनाइएको छ ।
पौडेलले चिसो भने केही दिन रहन सक्ने बताउँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए ।
उक्त प्रणालीले बुधबार काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको थियो । विशेषगरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन ।
उक्त प्रणालीले काठमाडौँमा २.२, ललितपुरमा ४.८ र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा गराएको छ । सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ ।
रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ ।
नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ ।
बागमती प्रदेशसहित पश्चिमका अधिकांश जिल्लामा बुधबार वर्षा भएको र ती जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि गरायो ।





