रौतहट । कटहरिया नगरपालिका वडा नं ९, डुमरियास्थित ज्योती डिस्ट्रीलरीमा शनिबार बिहान बोइलर मेसिन विस्फोट हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना कामदार घाइते भएका छन्। घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा मृत्यु हुनेमा ४५ वर्षीय लक्ष्मणराय यादव रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उद्योगमा कार्यरत ५१ वर्षीय जगदीश यादव, ५५ वर्षीय बिगन यादव र ४० वर्षीय मुकेश यादव घाइते छन् । उनीहरूको हातखुट्टा जलेकोर अवस्था चिन्ताजनक छ ।
विस्फोटबाट ४५ वर्षीय रहमोद आलम, ३५ वर्षीय प्रमजित यादव र ४० वर्षीय कैलाश माली मध्यम घाइते भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मेन्द्र पौडेलले जानकारी दिए ।
घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरिया, गरुडा र लक्ष्मीनिया विजयपुरबाट प्रहरी टोली खटाएर घाइते उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
विस्फोटले उद्योगको भौतिक संरचनामा पूर्ण क्षति पुर्याएको छ। घाइतेमध्ये केहीको अवस्था अझै गम्भीर रहेकाले थप उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।





