Nidan Media

पोखराको न्यूइयर इभमा उज्जन शाक्य गुञ्जिने

पोखरा । पोखरा सडक महोत्सवअन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाइरल गायक उज्जन शाक्य गुञ्जिने भएका छन् ।

रेवान पोखराको आयोजनामा हुने महोत्सवको न्यू इयर इभ विशेष कार्यक्रम हिट्स अफ नाइन्टिजअन्तर्गत पुस १६ गते साँझ न्यू इयर ईभमा पछिल्लो समयका भाइरल उज्जन श्रेष्ठको व्याण्डले लाइभ प्रस्तुति दिने अलटेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए। उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीत गुञ्जाउने छन् ।

सो दिन न्यू ईयर ईभमा एक्स नेपथ्यसमेत गुञ्जिनेछ । तीन दशकपछि पोखरामा गुञ्जिने सो व्याण्डका स्थापनाकालीन गायकद्वय रविन श्रेष्ठ र गौतम गुरुङले लाइभ व्याण्ड प्रस्तुति दिनेछन् ।

जहाँ रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरि, नक्कली कान्छीलगायतका गीत प्रस्तुत गर्दैछन् ।

गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्योलगायतका चर्चित प्रस्तुत गर्नेछन् ।

न्यू इयर ईभको साँझमा नेपथ्यसँगै डि-मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले लाइभ व्याण्ड प्रस्तुति दिनेछन् ।

सो दिन अहिलेकी भाइरल डान्सर कार्टुन क्रुजकी आश्मा विश्वकर्माको विशेष प्रस्तुति रहनेछ । न्यू इयर इभलाई विशेष बनाउन उनले अहिलेको भाइरल छिकिरी छिकिरीलगायतका गीतमा डान्स प्रस्तुति दिनेछिन् ।

पोखरा कोमागाने पार्कमा हुने कार्यक्रमअन्तर्गत पुस १५ गते साँझ चर्चित व्याण्ड स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाइभ व्याण्ड प्रस्तुति दिनेछन् ।

सो साँझ स्वप्न सुमनले जे छौँ तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीत प्रस्तुत गर्नेछन् ।

यस्तै, केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीत गुञ्जाउने छन् ।

सोही दिन चक्र व्याण्ड पनि ब्लाष्ट हुनेछ । सो दिन दिउँसो भने प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुति रहनेछ भने दिवा कार्यक्रमतर्फ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुति रहने उनले बताए ।

पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि विजेता तथा उपविजेताको सांगीतिक प्रस्तुति रहने बताइन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.