Nidan Media

सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा : प्रधानमन्त्री कार्की

ललितपुर । प्रधानमन्त्री शुसीला कार्कीले ललितपुर महानगरपालिका उमेरका हिसाबले मात्र होइन, कला र सम्पदाका दृष्टिले पनि जेठो रहेको बताएकी छन् ।

ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले पाटन आँफैमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित संग्रहालय भएको उल्लेख गरिन् ।

उनले यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराइरहेको अनुभूति हुने बताउँदै पूर्खाले छाडेर गएका सम्पदामा श्रद्धा, साधना र संस्कृतिको सजीव अभिव्यक्ति रहेको भनाइ राखिन् । यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँटा, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले गत भदौ २३ र २४ गते भएको जेन-जी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको उल्लेख गर्दै सरकार हाल सुशासन र निर्वाचनलाई दुई प्रमुख एजेन्डाका रुपमा अघि बढाइरहेको जानकारी गराइन् ।

आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारीका काम तीव्र रुपमा अघि बढेको उनले बताइन् ।

निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर रहेको बताउँदै प्रधानमन्त्रीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।

उनले संविधानसम्मत र लोकतान्त्रिक विधिमार्फत मुलुकलाई सुशासनको मार्गमा अघि बढाउने एक मात्र विकल्प निर्वाचन भएको स्पष्ट पार्दै समाजमा कुनै पनि प्रकारको अराजकताले स्थान पाउन नहुनेमा जोड दिइन् ।

शान्ति खल्बल्याउने र कानून हातमा लिने गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको उल्लेख गर्दै उनले खराब तत्त्वको प्रतिरोधका लागि समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने भन्दै सबैलाई हातेमालो गर्न आग्रह गरिन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.