दोलखा । गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलामा हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या सात पुगेको छ ।
मृत्यु हुनेमा दुई नेपालीसहित तीन अमेरिकी, एक क्यानेडियाली र एक इटालीका नागरिक हुन् । चार जना बेपत्ता छन् ।
दाेलखाको गौरीशङ्कर गाउँपालिका वडा नं ९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै सोमबार बिहान हिमपहिरोमा परेका थिए ।
आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह सोमबार बिहान ९ बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
बिहानैदेखि उद्धारका लागि प्रशासनलाई आग्रह गरे पनि उद्धारमा ढिलाइ भएको वडाध्यक्ष निमगेली शेर्पाले बताए ।
हेलिकोप्टर उडानका लागि रोल्वालिङ क्षेत्र प्रतिबन्धित भएकाले प्रशासनले अनुमतिमा ढिलाइ गर्दा थप समस्या भएको शेर्पाको भनाइ छ ।
हिमपहिरोमा परेकाको खोजीको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाए पनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
				
															




