पोखरा । पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले कर्मचारीको तलब बढाउने भएको छ । न्यून पारिश्रमिकमा काम गराएर नर्सिङ कर्मचारीमाथि श्रम शोषणको आरोपको खण्डन गर्दै अस्पतालले ती आरोप भ्रामक र तथ्यहीन भएको जिकिर गरेको छ ।
अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल त्यस्ता आरोपप्रति गम्भीर आपत्ति प्रकट गर्दछ । मणिपाल शिक्षण अस्पताल विगत तीन दशकदेखि गण्डकी प्रदेशमा गुणस्तरीय, सुरक्षित र उदाहरणीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।’
अस्पतालका अनुसार, नर्सिङ कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम् तलब १७ हजार तीन सय रुपैयाँ मासिक तलब र अन्य तोकिएका सुविधा अनुसार नै तलब प्रदान गर्दै आएको जनाएको छ ।
अस्पतालले नयाँ तलब तथा भत्तासमेत घोषणा गरेको छ । नयाँ निर्णयअनुसार बीएस्सी र बीएन स्टाफ नर्सलाई २९ हजार पाँच हजार ८७ रुपैयाँ मासिक तलब भत्ता तोकेको छ ।
यस्तै, पीसीसएल स्टाफ नर्सका लागि २८ हजार पाँच सय २७ र सीएमए र अनमीका लागि २६ हजार पाँच सय २७ तलब तोकेको छ । यसबाहेक अस्पतालले नर्सिङ कर्मचारीलाई खाना बापत छ सय रुपैयाँ र आवासीय होस्टेल सुविधा दिइरहेको जनाएको छ । तर पूरा तलब पाउन काम गरेको एक वर्ष पुग्नुपर्ने सर्त अस्पतालले राखेको छ ।
नर्सहरूले गरेको आन्दोलनमा भने अस्पतालले आपत्ति जनाएको छ । ‘कुनै पनि सार्वजनिक निकाय वा सङ्गठनमा जस्तै यस अस्पतालमा पनि केही कर्मचारीको कार्यसम्पादनमा कहिलेकाहीँ प्रश्न उठ्न सक्छ’ अस्पतालले विज्ञप्तिमा भनेको छ, ‘यस्तो अवस्थामा सम्बन्धित कर्मचारीलाई नयाँ नीति नियमको पालना गर्ने, कार्यशैलीमा सुधार गर्ने, सेवामा समर्पित हुने, तोकिएको समयमा कार्य सम्पन्न गर्ने, तोकिएको कार्य क्षेत्र भित्र रही काम गर्ने, टिमवर्कमा विश्वास गर्ने, असल व्यवहार गर्ने, काममा समयनिष्ठ हुने र काममा लगनशील हुनुपर्छ ।’
अस्पतालले कार्यरत नर्सिङ कर्मचारीहरूले आकस्मिक रूपमा आफ्नो कार्यस्थल छोडेकोमा गुनासो गर्दै तलब भत्ता वृद्धि नभएसम्म संवेदनशील विभागमा बिरामीलाई छोड्नु गलत भएको तर्कसमेत गरेको छ ।
अस्पतालले विज्ञप्तिमा आईसीयू विभागमा कार्यरत केही नर्सिङ कर्मचारीले गत असोज १० गते राति ८ बजे कार्यस्थल छोडी ‘तलबभत्ता वृद्धि नभएसम्म काममा नजाने’ निर्णय गरेका थिए भनेको छ । यसका कारण आइसीयूमा भर्ना भएका बिरामीको उपचारमा गम्भीर असर परेको र अधिकांश बिरामीलाई डिस्चार्ज गर्नुपर्ने अवस्था सिर्जना भएको अस्पतालले बताएको छ । गम्भीर बिरामीलाई भने अन्य अस्पतालमा रिफर गरी वा सर्जरी वार्डमा आईसीयू सेवा सञ्चालन गरिएको छ ।
अस्पतालले आइसीयू जस्तो संवेदनशील विभागका बिरामीलाई अलपत्र पार्दा उपचारमा समस्या हुने भन्दै नर्सिङ सुपरभाइजरले काममा फर्काउन अनुरोध गरे पनि कर्मचारी नफर्किएको जनाएको छ ।
हाल अस्पतालका ओपीडी सेवा र अन्य मेडिकल सेवा पनि आवश्यक जनशक्ति अभावका कारण अस्थायी रुपमा रोकिएको विज्ञप्तिमा उल्लेख छ ।
व्यवस्थापन पक्ष र आन्दोलनरत नर्सिङ कर्मचारीबीच समस्या समाधानका लागि पटकपटक छलफल भएको अस्पतालले जनाएको छ । असोज ११ गते शनिबार अस्पताल निर्देशक तथा मानव संशाधन विभाग प्रमुखको रोहबरमा नर्सिङ स्टाफ र सक्रिय युनियनका प्रतिनिधिसँग अस्पताल प्रशासनले छलफल गरेको थियो।
उक्त छलफलमा द्विपक्षीय बैठक बस्ने सहमति भएको थियो। दशैँ बिदा समाप्त भएपछि असोज १५ गते आइतबार व्यवस्थापन पक्ष र नर्सिङ वार्ता टोलीका प्रतिनिधिबीच पुनः वार्ता भएको थियो ।
त्यस क्रममा व्यवस्थापनले आगामी शुक्रबारसम्म कर्मचारीको माग सम्बोधन गर्ने विषयमा अधिकतम् प्रयास गर्ने प्रतिबद्धता जनाएको र नर्सिङ कर्मचारीले पनि कार्यस्थलमा फर्किने सहमति व्यक्त भएको अस्पतालले बताएको छ । तर, त्यसपछि पनि केही दिनसम्म चुलिएको विवादका कारण असोज २४ गते बिहीबार व्यवस्थापन पक्षले नर्सिङ वार्ता टोलीलाई बोलाई मागका विषयमा लिखित प्रस्ताव प्रस्तुत गरेको थियो । वार्ता टोलीका प्रतिनिधिले ‘हामी आफ्ना साथीहरूलाई बुझाउँछौं’ भन्ने आश्वासन दिएको अस्पतालले जनाएको छ ।
तर, सो छलफलपछि केही कर्मचारीले ‘व्यवस्थापनले नै सबैलाई बुझाउनुपर्छ’ भन्ने जानकारी दिँदा अस्पताल प्रशासनले असोज २४ गते शुक्रबार करिब २०० जना नर्सिङ कर्मचारीलाई अस्पताल हलमा बोलाई सम्पूर्ण विवरण जानकारी गराएको थियो।
यदि थप जिज्ञासा वा अस्पष्टता भएमा सोही दिन अपरान्ह ३ बजे सीइओको कार्यालयमा भेटघाट गरी पुनः छलफल गर्न सकिने व्यवस्था गरिएको थियो । तर, कर्मचारी न त वार्तामा उपस्थित भए, न त कार्यस्थलमा फर्किए अस्पतालले बताएको छ । त्यसपछि सोही दिन दिउँसो करिब ४ बजे कर्मचारीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा नाराबाजी गर्दै कर्मरत अवस्थामै जिम्मेवारी परित्याग गरी आन्दोलन र हड्तालमा उत्रिएको अस्पतालले उल्लेख गरेको छ ।
अस्पतालले फैलिएका भ्रामक जानकारीको पनि खण्डन गरेको छ । नेपाल सरकारले तोकेको २०७८ साउन महिनाको लागू न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ हो । अस्पतालले ती कर्मचारीलाई उक्त दर अनुसार तलब प्रदान गर्दै आएको र हरेक नेपाली महिनाको ७ गते भित्र नियमित रुपमा भुक्तानी गर्दै आएको जानकारी अस्पतालले गराएको छ ।
मणिपाल एजुकेसन एन्ड मेडिकल एमबीबीएस कार्यक्रमका लागि सन् १९९४ मा स्थापना स्थापना भएको हो । यस कलेजमा भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश, सिंगापुर, थाइल्याण्ड, मध्यपूर्व, केन्या, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, अष्ट्रेलिया र न्युजिल्यान्डलगायत विभिन्न देशका विद्यार्थी अध्ययनरत छन् ।
कम्पनीमा अटोवेज समूहको ८३ प्रतिशत र बतास समूह १७ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीको अध्यक्ष आनन्दराज बतास छन् भने सञ्चालकमा शान्तराज बतास, नारायण पौडेल, प्रमेश पराजुली छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल ओडुभिल छन् ।
तीन सय शय्या क्षमताको मणिपाललाई पाँच सय शय्याको बनाउने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।