Nidan Media

पहिरो प्रभावित क्षेत्रमा कोशी प्रदेश सरकारद्वारा राहत वितरण

विराटनगर । कोशी प्रदेश सरकारले पहिरो प्रभावित क्षेत्र इलाममा राहत वितरण थालेको छ ।

स्थलमार्ग अवरुद्ध भएपछि सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिलो चरणको राहतअन्तर्गत खाद्यान्न र अत्यावश्यक सामग्री इलाम पुर्याएको हाे ।

राहत सामग्रीमा चामल, दाल, आलु, तेल, नुन, बेसार, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपाललगायत छन् ।

मुख्यमन्त्री हिम्मत कार्कीले राहत कार्यलाई तीव्र र प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

उनका अनुसार प्रदेश सरकारले तत्काल उद्धारपछि विस्थापित परिवारको बसोबास र दैनिक आवश्यक सामग्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।

इलाममा सडक सञ्जाल बाढी र पहिरोले अवरुद्ध भएपछि राहत पुर्याउन एकमात्र विकल्प हवाई मार्ग भएकाले अहिले माङ्सेबुङ र सदरमुकाम इलाममा पहिलो चरणको सामग्री पुगेको छ र थप सामग्री पठाउने तयारी भइरहेको कोही प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिए ।

सचिव आचार्यले भने, ‘असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी-पहिरोले इलामको सूर्योदय नगरपालिका, सन्दकपुर, माङ्सेबुङ, माईजोगमाई, देउमाई, फाकफोकथुमलगायतका स्थानीय तहमा मानवीय तथा भौतिक क्षति पुर्याएको थियो ।

सरकारले इलामलाई ‘उच्च प्राथमिकता क्षेत्र’ घोषित गर्दै राहत तथा पुनःस्थापनाको दीर्घकालीन योजना बनाउने तयारीसमेत गरेको छ ।

मुख्यमन्त्री कार्कीले पीडित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

बाढीपहिरोका कारण ठूलो क्षति व्यहोरेको इलाममा मात्रै ३८ जनाले ज्यान गुमाएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.