काठमाडौँ । विभिन्न मागसहित जेन-जी युवाले गतिविधि बढाएपछि काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
जेन-जी पुस्ताका युवाले संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति खारेजी र ‘जेन-जी विद्रोह’ मा दमनकारी भूमिका खेलेका शीर्ष नेतालाई पक्राउ गर्न चौतर्फी दबाब बढाएपछि काठमाडौँका मुख्य सार्वजनिक स्थल तथा सरकारी कार्यालयमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।
युवाहरूले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन् ।
यसै क्रममा जेन–जीको एक समूहले मंगलबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तको राजीनामाको माग गर्दै औपचारिक रूपमा निवेदनसमेत दर्ता गराएको छ ।
ओली र लेखकलाई पक्राउ गर्ने विषयमा सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखसँग छलफल गरेकी थिइन् ।
यद्यपि, प्रहरीले भने लिखित जवाफ माग गर्दै जाहेरी लिन नमानेको बताइएको छ ।
यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै जेन-जी युवाहरूले मंगलबार आयोगको कार्यालयमा प्रदर्शन गरेका छन्।
उनीहरूको मुख्य आरोप अख्तियारमा दलका मान्छे नियुक्त गरिएको कारण भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका रहेको छ।
अलायन्सका युवाले सोमबार साँझ नै इमेलमार्फत राजीनामाका लागि दवावमूलक पत्र पठाएका थिए भने मंगलबार त्यसैको औपचारिकताका लागि आयोगमा निवेदन पनि दर्ता गराएका छन्।
अलायन्सका युवा रिजन रानामगरले प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।
जेन-जी युवाहरूको माग केवल अख्तियारका पदाधिकारीमा मात्र सीमित छैन। उनीहरूले तत्कालीन प्रधानमन्त्री ओलीका पालामा नियुक्त भएका संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिसमेत खारेज हुनुपर्ने माग राख्दै आएका छन्।