काठमाडौँ। नेपाल प्रहरीको २४ घण्टे सवारी दुर्घटना विवरणअनुसार देशका विभिन्न आठ जिल्लामा भएका १० ओटा दुर्घटनामा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा सात पुरुष, दुई महिला र एक बालकको ज्यान गएको छ।
प्रहरीको विवरणअनुसार रौतहटको कटहरिया नगरपालिका-१ भसेडवामा कात्तिक ११ गते राति करिब साढे ९ बजे मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीया मनिषा देवीको मृत्यु भएको छ।
उनका श्रीमान् सुमन राय यादवले चलाएको ज ९ प ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। घाइते मनिषालाई सुरुमा कटहरियास्थित अनिता सेन्ट्रल अस्पताल र त्यसपछि वीरगन्जको एनएमसी अस्पताल लगिएकोमा बिहीबार चिकित्सकले मृत घोषणा गरेका थिए।
सिरहाको धनगढीमाई नगरपालिका-१० जिरोमाइलमा कात्तिक ६ गते साँझ यात्रुवाहक बसको ठक्करबाट घाइते भएका ३५ वर्षीय विवेक बलम्पाकी मगरको उपचारका क्रममा मृत्यु भएको छ। महेन्द्र राजमार्गमा बाटो काट्दै गरेका उनलाई बा.प्र. ०३-००१ ख ५२८५ नम्बरको बसले ठक्कर दिएको थियो।
धनगढीस्थित आरके मेडिसिटी अस्पतालमा उपचारपछि विराटनगरको प्राइम अस्पताल लगिएका मगरको कात्तिक १२ गते बिहान ७:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
सप्तरीको शम्भुनाथ नगरपालिका-६ कठौना चोकमा कात्तिक १२ गते राति १०:१० बजे रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा २२ वर्षीय सैन्य विशान्त चौधरीको मृत्यु भएको छ।
उदयपुरको बेलका नगरपालिका-२ का चौधरीले चलाएको प्र.१-०५-००१ प ६४०५ नम्बरको मोटरसाइकल ना.६ ख ७३०२ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको थियो। दुर्घटनामा पछाडि सवार २५ वर्षीय विजय चौधरी पनि घाइते भएका छन्।
चितवनको भरतपुर महानगरपालिका-१ रामनगरमा कात्तिक १० गते बिहान भ्यानले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा घाइते भएका ५७ वर्षीय भक्तबहादुर गुरुङको मृत्यु भएको छ।
तनहुँको देवघाट गाउँपालिका–५ देउपुरका गुरुङले चलाएको बा.प्र. ०६-००७ प ७८७२ नम्बरको स्कुटरलाई बा.प्र. ०१-००६ ख ७०८१ नम्बरको भ्यानले ठक्कर दिएको थियो। नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत गुरुङको कात्तिक १२ गते राति ८:२० बजे मृत्यु भएको हो।
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ पञ्चमुनि चोकमा कात्तिक १२ गते साँझ स्कार्पियोको ठक्करबाट ३६ वर्षीया सबिना गुरुङको मृत्यु भएको छ।
बाटो काट्दै गरेकी शुक्लागण्डकी-४ गाछेपानीकी गुरुङलाई गण्डकी बीएए १४८४ नम्बरको स्कार्पियोले ठक्कर दिएको थियो। घाइते उनलाई पोखरास्थित मणिपाल अस्पताल पुर्याइएकोमा साँझ ७:३१ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
रुपन्देहीको देवदह नगरपालिका-६ मिलन चोकमा कात्तिक १२ गते साँझ अज्ञात नम्बरको हाइलक्स वा पिकअप गाडीको ठक्करबाट ८२ वर्षीय बुद्धिप्रसाद पोखरेलको मृत्यु भएको छ।
बाटो काट्दै गरेका देवदह-७ खैरेनीका पोखरेललाई ठक्कर दिएर घाइते बनाएको उक्त गाडीको नम्बर खुलेको छैन। देवदह मेडिकल कलेज भलुहीमा पुर्याइएका पोखरेललाई साँझ ६:४८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यसैगरी, बुटवल उपमहानगरपालिका-५ पुष्पलालपार्कमा कात्तिक १२ गते दिउँसो गाडी र मोटरसाइकल ठोक्किँदा ३३ वर्षीय मिलन न्यौपानेको मृत्यु भएको छ।
लु.१ क १६२९ नम्बरको गाडी र लु.११ प ४२३१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका बुटवल-१४ कृष्णगञ्जका न्यौपानेको भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा राति १०:३६ बजे मृत्यु भएको हो।
गुल्मीको इस्मा गाउँपालिका-६ आपलायमा कात्तिक १२ गते साँझ खाली ट्याक्टरको ठक्करबाट १२ वर्षीय कुञ्जन खत्रीको घटनास्थलमै मृत्यु भएको छ। लु.२ त ६१९४ नम्बरको ट्याक्टरले पैदलयात्री खत्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा कात्तिक १२ गते राति अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको छ। रा.१ ह ६१२६ नम्बरको अटोमा सवार छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका राउत दुर्घटनामा परेका थिए।
रौतहटको फतुवा विजयपुर नगरपालिका-११ राङ्गी टोलमा कात्तिक १२ गते साँझ ट्याक्टर र मोटरसाइकल ठोक्किँदा ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ।
ना.२ त ४७८६ नम्बरको ट्याक्टर र बा.प्र. ०२-०५३ प ८२०२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निसा खड्का घाइते भएका थिए। दुवैलाई वीरगन्जस्थित ब्योधा अस्पताल लगिएकोमा सुभाषलाई राति ८:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।





