Skip to main content

Nidan Media

एनपीएल: जनकपुरसँग आठ विकेटले हार्‍यो काठमाडौँ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजले खराब शुरूआत गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको पाँचौँ खेलमा जनकपुर बोल्ट्सले काठमाडौँलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ।

काठमाडौँले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर दुई बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरका मोइन अलीले अविजित ५८ र सैफ हसनले अविजित ४० रन बनाए। मोइनले ५१ बलमा ५८ रन बनाउँदा सैफले ३९ बलमा ४० रन जोडे।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९ ओभर तीन बलमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो। काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। राशिद खानले १७ र स्मित पटेलले १३ रन जोडे। जनकपुरका राहुल यादवले ३१ रन खर्चेर चार विकेट लिए।

आठ टोली सहभागी प्रतियोगितामा जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो। दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। कर्णालीले पहिलो खेलमा जनकपुरलाई हराएको थियो भने विराटनगर चितवन राइनोजसँग पराजित भएको थियो।

एनपीएलमा आठ टोली, विजेताले डेढ करोड पाउने

एनपीएलको तेस्रो संस्करणमा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीमा काठमाडौँ गोर्खाज, जनकपुर बोल्ट्स, विराटनगर किंग्स, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यस संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्। शीर्ष चार टोलीका लागि कुल तीन करोड रुपैयाँ पुरस्कार छुट्याइएको छ।

प्रतियोगिताको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। लिग चरणमा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि शीर्ष टोलीहरू प्लेअफमा प्रवेश गर्नेछन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.