Skip to main content

Nidan Media

तनहुँसहित विभिन्न स्थानमा भएको दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौँ। नेपाल प्रहरीको २४ घण्टे सवारी दुर्घटना विवरणअनुसार देशका विभिन्न आठ जिल्लामा भएका १० ओटा दुर्घटनामा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा सात पुरुष, दुई महिला र एक बालकको ज्यान गएको छ।

प्रहरीको विवरणअनुसार रौतहटको कटहरिया नगरपालिका-१ भसेडवामा कात्तिक ११ गते राति करिब साढे ९ बजे मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीया मनिषा देवीको मृत्यु भएको छ।

उनका श्रीमान् सुमन राय यादवले चलाएको ज ९ प ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। घाइते मनिषालाई सुरुमा कटहरियास्थित अनिता सेन्ट्रल अस्पताल र त्यसपछि वीरगन्जको एनएमसी अस्पताल लगिएकोमा बिहीबार चिकित्सकले मृत घोषणा गरेका थिए।

सिरहाको धनगढीमाई नगरपालिका-१० जिरोमाइलमा कात्तिक ६ गते साँझ यात्रुवाहक बसको ठक्करबाट घाइते भएका ३५ वर्षीय विवेक बलम्पाकी मगरको उपचारका क्रममा मृत्यु भएको छ। महेन्द्र राजमार्गमा बाटो काट्दै गरेका उनलाई बा.प्र. ०३-००१ ख ५२८५ नम्बरको बसले ठक्कर दिएको थियो।

धनगढीस्थित आरके मेडिसिटी अस्पतालमा उपचारपछि विराटनगरको प्राइम अस्पताल लगिएका मगरको कात्तिक १२ गते बिहान ७:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सप्तरीको शम्भुनाथ नगरपालिका-६ कठौना चोकमा कात्तिक १२ गते राति १०:१० बजे रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा २२ वर्षीय सैन्य विशान्त चौधरीको मृत्यु भएको छ।

उदयपुरको बेलका नगरपालिका-२ का चौधरीले चलाएको प्र.१-०५-००१ प ६४०५ नम्बरको मोटरसाइकल ना.६ ख ७३०२ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको थियो। दुर्घटनामा पछाडि सवार २५ वर्षीय विजय चौधरी पनि घाइते भएका छन्।

चितवनको भरतपुर महानगरपालिका-१ रामनगरमा कात्तिक १० गते बिहान भ्यानले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा घाइते भएका ५७ वर्षीय भक्तबहादुर गुरुङको मृत्यु भएको छ।

तनहुँको देवघाट गाउँपालिका–५ देउपुरका गुरुङले चलाएको बा.प्र. ०६-००७ प ७८७२ नम्बरको स्कुटरलाई बा.प्र. ०१-००६ ख ७०८१ नम्बरको भ्यानले ठक्कर दिएको थियो। नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत गुरुङको कात्तिक १२ गते राति ८:२० बजे मृत्यु भएको हो।

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ पञ्चमुनि चोकमा कात्तिक १२ गते साँझ स्कार्पियोको ठक्करबाट ३६ वर्षीया सबिना गुरुङको मृत्यु भएको छ।

बाटो काट्दै गरेकी शुक्लागण्डकी-४ गाछेपानीकी गुरुङलाई गण्डकी बीएए १४८४ नम्बरको स्कार्पियोले ठक्कर दिएको थियो। घाइते उनलाई पोखरास्थित मणिपाल अस्पताल पुर्‍याइएकोमा साँझ ७:३१ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

रुपन्देहीको देवदह नगरपालिका-६ मिलन चोकमा कात्तिक १२ गते साँझ अज्ञात नम्बरको हाइलक्स वा पिकअप गाडीको ठक्करबाट ८२ वर्षीय बुद्धिप्रसाद पोखरेलको मृत्यु भएको छ।

बाटो काट्दै गरेका देवदह-७ खैरेनीका पोखरेललाई ठक्कर दिएर घाइते बनाएको उक्त गाडीको नम्बर खुलेको छैन। देवदह मेडिकल कलेज भलुहीमा पुर्‍याइएका पोखरेललाई साँझ ६:४८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसैगरी, बुटवल उपमहानगरपालिका-५ पुष्पलालपार्कमा कात्तिक १२ गते दिउँसो गाडी र मोटरसाइकल ठोक्किँदा ३३ वर्षीय मिलन न्यौपानेको मृत्यु भएको छ।

लु.१ क १६२९ नम्बरको गाडी र लु.११ प ४२३१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका बुटवल-१४ कृष्णगञ्जका न्यौपानेको भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा राति १०:३६ बजे मृत्यु भएको हो।

गुल्मीको इस्मा गाउँपालिका-६ आपलायमा कात्तिक १२ गते साँझ खाली ट्याक्टरको ठक्करबाट १२ वर्षीय कुञ्जन खत्रीको घटनास्थलमै मृत्यु भएको छ। लु.२ त ६१९४ नम्बरको ट्याक्टरले पैदलयात्री खत्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा कात्तिक १२ गते राति अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको छ। रा.१ ह ६१२६ नम्बरको अटोमा सवार छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका राउत दुर्घटनामा परेका थिए।

रौतहटको फतुवा विजयपुर नगरपालिका-११ राङ्गी टोलमा कात्तिक १२ गते साँझ ट्याक्टर र मोटरसाइकल ठोक्किँदा ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ।

ना.२ त ४७८६ नम्बरको ट्याक्टर र बा.प्र. ०२-०५३ प ८२०२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निसा खड्का घाइते भएका थिए। दुवैलाई वीरगन्जस्थित ब्योधा अस्पताल लगिएकोमा सुभाषलाई राति ८:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.