काठमाडौँ । स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनापछि प्रधानमन्त्री पेद्रो सान्चेजले अक्टोबर २९ देखि ३१ सम्म तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन्।
स्थानीय समयअनुसार बिहान ८ः५४ बजे म्याड्रिडबाट करिब एक सय २० किलोमिटर दक्षिणमा पर्ने टोलेडो प्रान्तको उर्दा स्टेसननजिक दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा घाइते भएकाहरूको उद्धार तथा राहत कार्य जारी छ।
दुर्घटनामा सरकारी रेल सेवा रेन्फेको एभीई र इर्यो कम्पनीका तीव्र गतिका रेल संलग्न रहेको बताइएको छ। इर्यो रेलका पछिल्ला डिब्बा लिकबाट खसेर सडक किनारको भिरालो भागमा पुगेका थिए।
प्रधानमन्त्री सान्चेजले दुर्घटनाको विस्तृत अनुसन्धान गरी सुरक्षा प्रणालीमा लापरबाही वा कमजोरी देखिए जिम्मेवार पक्षमाथि कारबाही गर्ने बताएका छन्। यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार प्रारम्भिक आकलनमा सुरक्षा प्रणालीसँग सम्बन्धित प्राविधिक समस्या हुन सक्ने देखिएको छ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनसहित अन्तर्राष्ट्रिय नेताहरूले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।




