काठमाडौँ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन्।
आजको पहिलो खेलमा मध्याह्न १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्स भिड्नेछन्।
चितवनको कप्तानी कुशल मल्ल र विराटनगरको नेतृत्व सन्दीप लामिछानेले गरिरहेका छन्।
त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
जनकपुरको कप्तानी हर्मित सिंह र कर्णालीको नेतृत्व सोमपाल कामीले गरिरहेका छन्।
एनपीएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन्।
लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।
प्रतियोगिताको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो।
नेपाल क्रिकेट संघका अनुसार यस संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ।
उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ।




