काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले विजयी शुरूआत गरेको छ।
सोमबारदेखि शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई १७.२ ओभरमा ८७ रनमै समेटेको थियो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। सैफ जैबले १३ रन जोड्दा अनिल खरेल १५ रनमा अविजित रहे। विनोद भण्डारीले नौ र इसान पाण्डेले सात रन बनाए। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

लुम्बिनीका किशोर महतोले सर्वाधिक चार विकेट लिए। शेर मल्लले तीन विकेट झारे भने साड्ली भान शाल्कविक, रोहित पौडेल र तिलक भण्डारीले एकऔएक विकेट लिए।
८८ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ९.५ ओभरमै तीन विकेट गुमाएर जित हासिल गर्यो। लुम्बिनीका डार्सी शर्टले १८ बलमा ४० रन बनाए भने आसिफ शेखले २५ बलमा ३२ रन जोडे। कप्तान रोहित पौडेल तीन बलमा पाँच रन बनाएर अविजित रहे।
प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछ। जसमा पहिलो खेल दिउँसो १२:३० बजे विराटनगर र चितवन तथा साँझ ५:00 बजे कर्णाली र जनकपुर भिड्नेछन्। प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।




