Skip to main content

Nidan Media

नेपालमा आगामी साता दुई सय मिलिमिटरसम्म वर्षा हुन सक्ने

काठमाडौँ। बंगालको खाडीमा विकसित भइरहेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालका केही स्थानमा दुई सय मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार आगामी बुधबारदेखि आइतबारसम्म वर्षाको सम्भावना छ।

उनले छोटो अवधिमा धेरै वर्षा भए बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। उच्च हिमाली क्षेत्रमा भारी हिमपात, अत्यधिक चिसो र हिमपहिरोको जोखिमसमेत बढ्न सक्ने उनको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र सोमबारसम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने सम्भावना छ।

उक्त प्रणाली पश्चिम-उत्तरपश्चिमतर्फ अघि बढ्दै भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान छ।

विभागले उक्त प्रणालीको प्रभाव आगामी बुधबारदेखि नोभेम्बर १ सम्म नेपालमा पर्न सक्ने जनाएको छ। यद्यपि, वर्षाको मात्रा र जोखिमको स्तर अहिले नै निश्चित भइनसकेको विभागले स्पष्ट पारेको छ।

सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र यात्रा गर्दा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.