Skip to main content

Nidan Media

तेस्रो एनपीएलको तयारी पूरा, विजेताले एक करोड ५० लाख पाउने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारी पूरा भएको छ। सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने कार्यक्रम छ।

प्रतियोगिता विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। यो अघिल्लो संस्करणको तुलनामा ४० लाख रुपैयाँ बढी हो।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशि सार्वजनिक गरेको हो। प्रतियोगितामा दोस्रो हुने टोलीले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष चार टोलीलाई कुल तीन करोड रुपैयाँ पुरस्कार वितरण गरिनेछ।

प्रतियोगितामा विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यसपटकको एनपीएलमा अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता चर्चित विदेशी खेलाडी सहभागी हुँदैछन्।

विदेशी खेलाडी अनुबन्धमा सहजता र निर्णय समीक्षा प्रणाली (डीआरएस) प्रविधिको प्रयोग यस संस्करणका प्रमुख विशेषता हुन्। प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यतासमेत पाएको छ।

गत संस्करणमा लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। त्यतिबेला विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो।

क्यानका अनुसार यसपटक प्रतियोगिताबाट प्रायोजन, टिकट बिक्री तथा प्रसारण अधिकारलगायत माध्यमबाट आम्दानी बढ्ने अपेक्षा गरिएको छ। एक महिनाको अवधिमा प्रतियोगितासँग सम्बन्धित कुल कारोबार एक अर्ब ५० करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।

प्रतियोगिता नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.