Nidan Media

सरकारले जनविश्वास गुमाउँदै गएको कांग्रेसको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार जनविश्वास गुमाउँदै गएको आरोप लगाएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले विदेश नीति, सुकुमवासी व्यवस्थापन, रासायनिक मल तथा खाना पकाउने ग्यासको आपूर्ति, निजी क्षेत्र र अर्थतन्त्रका विषयमा सरकार असफल भएको दाबी गरे।

उनले वास्तविक भूमिहीनलाई न्याय दिलाउँदै सार्वजनिक जग्गाको संरक्षणसहित सुकुमवासी समस्याको दीर्घकालीन समाधान गर्न सरकारसँग आग्रह गरे। सरकारले चुनावअघि आश्वासन बाँड्ने तर कार्यान्वयनमा असफल भएको आरोप पनि उनले लगाए।

चालिसेले पर्याप्त प्रमाणबिनै व्यावसायिक प्रतिष्ठानमा छापा मार्ने, मन्त्रीहरूबाट धम्कीपूर्ण अभिव्यक्ति आउने तथा निजी क्षेत्रप्रति नकारात्मक व्यवहार गरिएकाले लगानीको वातावरण बिग्रिएको बताए। त्यसका कारण स्वदेशी तथा विदेशी लगानी निरुत्साहित भएको र अर्थतन्त्र थप संकटतर्फ उन्मुख भएको उनको भनाइ थियो।

प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै उनले विदेशमा दूत वा प्रतिनिधि पठाउने प्रक्रियामा पनि सरकारले पारदर्शिता र जवाफदेहिता कायम गर्न नसकेको आरोप लगाए। खाना पकाउने ग्यासको आपूर्ति र वितरण प्रभावकारी बनाउन नसक्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको उनको भनाइ थियो।

चालिसेले नागरिकको दैनिकीसँग जोडिएका समस्या समाधानमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.