काठमाडौं। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित नौ वटा विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक तथा सेवा-सुविधासम्बन्धी ऐन संशोधनसहित विभिन्न विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार संसद्मा पेस गरिने विधेयकमा खानी तथा खनिज पदार्थ, संक्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन संशोधन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालश्रम, आन्तरिक वायु सेवाको दायित्व, मेलमिलाप ऐन संशोधन तथा कर्मचारी सञ्चय कोष ऐन संशोधनसम्बन्धी विधेयक रहेका छन्।
मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ।
यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गरिएको छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई पनि स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।




