कपिलवस्तु। कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित बहादुरगञ्ज-तौलिहवा हुलाकी सडकखण्डमा ट्रकले दुईटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले दुईटा साइकल र सडकमा हिँडिरहेका एक पैदलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका-२ गैडहवा निवासी १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका-३ गनौरियाका करिब ४६ वर्षीय विजयकुमार गुप्ता र सोही वडाका करिब ७५ वर्षीय भोल्लर कुर्मी छन्।
दुर्घटनाका क्रममा अनियन्त्रित भएको ट्रकले सडक छेउमा पार्किङ गरी राखिएको लु १४ प ५५०५ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो। मोटरसाइकलमा भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
घटनापछि ट्रक र चालक मोरङको विराटनगर महानगरपालिका-४ निवासी ४२ वर्षीय रोहित राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनापछि केही समय अवरुद्ध बनेको सडक अहिले सञ्चालनमा आएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान शुरू गरेको जनाएको छ।





