काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध महत्वपूर्ण प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार दिउँसो २ः४५ बजे शुरू हुने खेलमा नेपालले लगातार दोस्रो पटक टस गुमाएको छ। नेदरल्यान्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
नामिबियासँग पहिलो खेलमा ८ विकेटको निराशाजनक हार बेहोरेको नेपाल आज पुनरागमनको लक्ष्यसहित मैदानमा उत्रिएको हो। उक्त खेलमा नेपाली ब्याटिङ पूर्ण रूपमा असफल रहँदा टोली ४३.४ ओभरमा १५७ रनमै समेटिएको थियो।
त्यसपछि कमजोर बलिङको फाइदा उठाउँदै नामिबियाले ३७.३ ओभरमै लक्ष्य पूरा गर्दै नेपालबाट महत्वपूर्ण दुई अंक खोसेको थियो।
आजको खेल नेपालका लागि सामान्य लिग खेल मात्र होइन, विश्वकप ग्लोबल क्वालिफायरको दौड जीवित राख्ने अवसर पनि हो। शीर्ष चारभित्र रहन बाँकी प्रत्येक खेल जित्नुपर्ने दबाब रहेको अवस्थामा नेदरल्यान्ड्सविरुद्धको नतिजाले नेपालको आगामी यात्रा निर्धारण गर्न सक्छ।
अंकतालिकामा २९ खेलबाट २४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ भने समान अंक भए पनि कमजोर नेट रनरेटका कारण नामिबिया छैटौँ स्थानमा रहेको छ।
३२ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा छ। त्यसैले घरेलु टोलीलाई हराउन सके नेपालले शीर्ष चारको दौडलाई थप प्रतिस्पर्धात्मक बनाउन सक्छ।
नेपालका लागि आजको सबैभन्दा ठूलो चुनौती ब्याटिङ हुनेछ। पछिल्ला खेलहरूमा शीर्षक्रमले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली बारम्बार दबाबमा पर्दै आएको छ।
यदि शुरूआत बलियो बनाउन सकियो र मध्यक्रमले जिम्मेवारी सम्हाल्यो भने प्रतिस्पर्धात्मक लक्ष्य खडा गर्न सकिनेछ। बलिङतर्फ पनि नयाँ बलबाट विकेट निकाल्दै नेदरल्यान्ड्सलाई दबाबमा राख्नुपर्ने आवश्यकता छ।
यस शृङ्खलामा नेपालले अझै नामिबिया र नेदरल्यान्ड्ससँग १-१ खेल खेल्न बाँकी छ। त्यसैले आजको खेल जित्नसके टोलीको आत्मविश्वास मात्र होइन, विश्वकप ग्लोबल क्वालिफायर पुग्ने सम्भावना पनि बलियो बन्नेछ।




