काठमाडौं । मिर्गौला शरीरको अत्यन्तै महत्वपूर्ण अंग हो। यसले रगत शुद्ध गर्ने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने तथा रक्तचाप नियन्त्रण गर्ने काम गर्छ। तर मिर्गौलाले राम्रोसँग काम गर्न छाड्दा शरीरले सुरुआती संकेत दिन थाल्छ, जसलाई धेरैजसो मानिसले सामान्य ठानेर बेवास्ता गर्ने गर्छन्।
स्वास्थ्य विज्ञका अनुसार मिर्गौला रोग बिस्तारै विकसित हुने भएकाले सुरुआती लक्षण हल्का देखिन सक्छन्। तर ती संकेतलाई समयमै पहिचान गर्न नसक्दा अवस्था गम्भीर हुँदै मिर्गौला फेलसम्म पुग्न सक्छ।
मिर्गौलामा समस्या देखिँदा सबैभन्दा पहिले असामान्य थकान र कमजोरी महसुस हुन सक्छ। रगत राम्ररी शुद्ध हुन नसक्दा शरीरमा विषाक्त पदार्थ जम्मा हुने भएकाले कुनै विशेष काम नगर्दा पनि थकान भइरहन्छ।
पिसाबसम्बन्धी समस्या पनि महत्वपूर्ण संकेत हो। बारम्बार पिसाब लाग्नु, पिसाब गर्दा पोल्ने, गाढा वा फेनयुक्त पिसाब आउनु तथा पिसाबमा रगत देखिनु मिर्गौलाको गम्भीर समस्याको संकेत हुन सक्छ।
त्यस्तै अनुहार, आँखा वा खुट्टा सुन्निनु, भोक कम लाग्नु, वाकवाकी वा बान्ता हुनु, छाला सुख्खा भएर चिलाउनु तथा रातो दाग देखिनु पनि मिर्गौला कमजोर हुँदै गएको संकेत मानिन्छ।
अवस्था थप जटिल बनेमा शरीरमा पानी जमेर फोक्सोमा असर पुग्न सक्छ, जसका कारण सास फेर्न गाह्रो हुने समस्या देखिन सक्छ। यस्तो लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको परामर्श लिनुपर्ने विज्ञहरूको सुझाव छ।
मिर्गौला स्वस्थ राख्न पर्याप्त पानी पिउने, नुन र प्रशोधित (प्याकेट) खानेकुराको सेवन कम गर्ने, रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने तथा चिकित्सकको सल्लाहबिना पेनकिलर वा अन्य औषधि सेवन नगर्न चिकित्सकहरूले आग्रह गरेका छन्।




