Nidan Media

साउनभित्र राष्ट्रिय भेला गर्ने कांग्रेसको ‘नियमित महाधिवेशन पक्षधर’ समूहको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको ‘नियमित महाधिवेशन पक्षधर’ समूहले साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।

आइतबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समूहले पार्टी एकताका लागि पटक–पटक प्रयास भए पनि नेतृत्वको एकलौटी कार्यशैलीका कारण सहमति हुन नसकेको आरोप लगाएको हो।

नेता मिनबहादुर विश्वकर्माले संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवस साउन ६ गते काठमाडौंको प्रज्ञा भवनमा मनाइने र सोही कार्यक्रममा राष्ट्रिय भेलाको मिति, स्थान र समय सार्वजनिक गरिने जानकारी दिए। कार्यक्रम व्यवस्थापनका लागि पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ।

समूहले ‘नियमित कि विशेष महाधिवेशन’ भन्ने विवादले कांग्रेसलाई विभाजनको संघारमा पुर्‍याएको निष्कर्ष निकालेको छ। उपसभापति विश्वप्रकाश शर्मामार्फत आएको प्रस्तावअनुसार १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका कार्यसमितिलाई समायोजन गर्दै गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, कार्यसम्पादन समिति गठन गर्ने र पहिलो बैठकबाटै १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्न सकिने जनाएको छ।

समूहले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थापित राजनीतिक दललाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएको छ। साथै, बढ्दो महँगी, कालाबजारी, कृत्रिम अभाव, वर्षायाममा उचित विकल्पबिना सुकुम्बासी हटाइएको तथा नागरिक अधिकारकर्मीमाथि धरपकड भएको भन्दै सरकारको आलोचना गरेको छ। बाढी, पहिरो र डुबान प्रभावितको तत्काल उद्धार र राहतमा प्रभावकारी कदम चाल्न पनि सरकारसँग माग गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.