Nidan Media

साताको मध्यतिर देशभर धेरै भारी वर्षाको सम्भावना: मौसम विज्ञान विभाग

काठमाडौँ । आगामी साताभर देशभर मनसुनी गतिविधि सक्रिय रहने र विशेषगरी साताको मध्यतिर विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागकी मौसमविद् विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमी नेपालमा सरदर स्थानभन्दा माथि रहने तथा पूर्वी क्षेत्रमा साताको मध्यदेखि तराई नजिक सर्ने अनुमान छ। यसका कारण साताभर देशभर वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साताको सुरु र मध्यतिर मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने जनाइएको छ। साताको मध्यमा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षाको गतिविधि बढ्ने र केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

तराई क्षेत्रमा पनि साताभर वर्षा जारी रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा साताको सुरु र मध्यमा भारी वर्षा तथा मध्यतिर भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मधेस र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

विभागले साताको मध्यतिर वर्षा थप तीव्र हुने भएकाले नदी तथा खोलानाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र सहरी डुबान हुन सक्ने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.