Nidan Media

दुई दिनमा ८८ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ । योसँगै दुई दिनमा सुनको भाउ तोलामा आठ हजार आठ सय घटेको छ ।

सुनको भाउ मंगलबारको तुलनामा बुधबार तीन हजार छ सय र बिहीबार पाँच हजार दुई सय रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ७८ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार पाँच सय र मंगलबार दुईलाख ८७ हजार एक सय रुपैयाँ रहेको थियो।

यता, बुधबार प्रतितोला चार हजार चार सय ८५ रुपैयाँ रहेको असली चाँदीको भाउ बिहीबार तोलामा दुई सय ५० रुपैयाँ घटेर चार हजार दुई सय ३५ रुपैयाँ कायम भएको छ । योसँगै चाँदीको भाउ दुई दिनमा तीन सय ५५ रुपैयाँ घटेको हो।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.