काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ मा आइभरी कोस्टले अन्तिम मिनेटको गोलमा इक्वेडरलाई १-० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ। यसअघि जर्मनीले कुराकाओमाथि ७-१ को फराकिलो जित निकालेपछि समूहको प्रतिस्पर्धा थप रोचक बनेको छ।
अमेरिकाको फिलाडेल्फियास्थित लिंकन फाइनान्सियल फिल्डमा सोमबार बिहान भएको खेलमा आइभरी कोस्टलाई जित दिलाउने गोल अमाड डियाल्लोले खेलको ९०औँ मिनेटमा गरे। विल्फ्रेड सिंगोको पासलाई सदुपयोग गर्दै अमाडले गरेको उत्कृष्ट फिनिसिङ नै खेलको निर्णायक क्षण बन्यो।
खेलभर इक्वेडरले ५७ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। आइभरी कोस्टले भने सीमित अवसरको प्रभावकारी उपयोग गर्दै तीन अंक सुरक्षित गर्यो।
प्रतिस्पर्धात्मक खेलमा आइभरी कोस्टका तीन तथा इक्वेडरका एक खेलाडीले पहेँलो कार्ड बेहोरेका थिए। अन्तिम समयमा गरेको गोलले अफ्रिकी टोलीले विश्वकप अभियान सुखद रूपमा शुरू गरेको छ भने इक्वेडर पहिलो खेलमै निराश बन्न पुगेको छ।
यही समूहको अर्को खेलमा चार पटकको विश्व च्याम्पियन जर्मनीले प्रतियोगितामा पहिलो पटक सहभागी बनेको कुराकाओलाई ७–१ ले पराजित गर्दै आफ्नो उपाधि दाबेदारी बलियो रूपमा प्रस्तुत गरेको थियो।
ह्युस्टनस्थित एनआरजी स्टेडियममा भएको खेलमा फेलिक्स नेमेचाले छैटौँ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। २१औँ मिनेटमा लिभानो कोमेनेन्सियाले विश्वकपमा कुराकाओको पहिलो ऐतिहासिक गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए पनि त्यसपछि जर्मनीले खेलमा पूर्ण नियन्त्रण कायम गर्यो।
निको श्लोटरबेक, काइ हाभेर्ट्स, जमाल मुसियाला, नेथानियल ब्राउन र डेनिस उन्डाभले गोल थप्दा हाभेर्ट्सले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ७-१ को सहज जित दिलाए।
पहिलो चरणका खेलपछि जर्मनी तीन अंक र उत्कृष्ट गोल अन्तरसहित समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ। आइभरी कोस्ट पनि तीन अंकसहित दोस्रो स्थानमा छ भने इक्वेडर र कुराकाओ अंकविहीन छन्।
अन्तिम मिनेटको संघर्षपूर्ण जितले आइभरी कोस्टको आत्मविश्वास बढाएको छ भने जर्मनीले आक्रामक प्रदर्शनमार्फत विश्वकप उपाधिको प्रमुख दाबेदारमध्ये एक भएको सन्देश दिएको छ।




