काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका लामिछाने शुक्रबार साँझ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका छन्।
त्यसैगरी उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरेका छन्।
भ्रमणका क्रममा सीमा समस्यालगायत नेपाल–भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल भएको उनले बताए।
सभापति लामिछानेले नेपाल-भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताए। लामिछानेले सीमा समस्याजस्ता संवेदनशील विषय सार्वजनिक बहसभन्दा कूटनीतिक संवादमार्फत अघि बढाउनुपर्नेमा जोड दिए।
उनले सीमा विवाद ढोल बजाएर वा अनावश्यक प्रचारबाजी गरेर समाधान नहुने उल्लेख गर्दै उपयुक्त समय, प्रक्रिया र कूटनीतिक माध्यममार्फत विषयलाई अघि बढाइने बताए। भारत पनि संवादका माध्यमबाट समस्या समाधान गर्न सकारात्मक रहेको उनको भनाइ छ।
लामिछानेले दुई देशबीचका महत्वपूर्ण विषयहरू कूटनीतिक च्यानलमार्फत नै उठाउनुपर्ने बताउँदै राष्ट्रिय हितका सवालमा आवश्यक पहल उचित समयमा व्यवस्थित ढंगले गर्नुपर्ने धारणा राखे।
उनले सीमा समस्याको समाधान सडक र सदनको बहसभन्दा माथि उठेर संवाद र कूटनीतिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिए।
यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिबारे सोधिएको प्रश्नमा लामिछानेले परराष्ट्र मन्त्रालयले यस विषयमा आफ्नो धारणा स्पष्ट गरिसकेको र त्यही नै सरकारको आधिकारिक दृष्टिकोण रहेको बताए।




