काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा रोमाञ्चक जित दर्ता गरेको छ ।
घरेलु टोली मलेसियासँगको दुई खेलको टी-२० शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो ।
मलेसियाले दिएको ६८ रनको सामान्य लक्ष्य नेपालले १७ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १६ ओभर ५ बलमा ६७ रनमै अलआउट भएको थियो । नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई सस्तैमा समेटेका थिए ।
नेपालकी पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् । मनीषा उपाध्याय र रिया शर्माले दुई/दुई विकेट हात पार्दा कविता कुँवर र सीता मगरले एक/एक विकेट लिए ।
सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले केही विकेट गुमाए पनि अन्ततः जित निकाल्दै शृङ्खलामा सुखद सुरुआत गरेको हो ।
नेपाल र मलेसियाबीचको दोस्रो तथा अन्तिम टी-२० खेल शुक्रबार हुनेछ । एसीसी महिला प्रिमियर कप र २०औँ एसियाली खेलकुद प्रतियोगिताको छनोट तयारीस्वरूप नेपालले मलेसियासँग टी-२० शृङ्खला खेलेको हो ।




