काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा नियमित कार्यसूचीअनुसार विभिन्न विषयमा छलफल हुनेछ।
बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूची छ ।
यसैगरी, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
यसअघि मङ्गलवार बसेको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल सकिएको छ। बैठकमा सांसदहरूले उठाएका विविध जिज्ञासा, प्रश्न र आलोचनामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विस्तृत जवाफ समेत दिइसकेका छन्।
आगामी बजेटको रूपरेखा मानिने सो प्रस्तावमाथि संसद्मा सोमबारदेखि औपचारिकताका साथ छलफल सुरु भएको थियो। गत वैशाख ३१ गतेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) सदनसमक्ष प्रस्तुत गरेका थिए। मङ्गलवार अर्थमन्त्रीको जवाफसँगै प्रि-बजेट छलफलको संसदीय प्रक्रिया टुङ्गिएको छ।




