Nidan Media

सरकार विधि मिच्दै संसद् छल्दै स्वेच्छाचारितातर्फ अघि बढेको प्रचण्डको आरोप

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारमाथि विधि, लोकतान्त्रिक मूल्य र संसदीय प्रक्रियाको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकलाई सम्बोधन गर्दै उनले संख्याको दम्भमा विधि मिच्ने काम भइरहेको भन्दै जनताको विश्वासलाई विधि सुदृढीकरणतर्फ प्रयोग गर्न सरकारलाई आग्रह गरे।

दाहालले सरकार संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छल्दै अध्यादेशमार्फत शासन चलाउने प्रयासमा लागेको भन्दै यस्तो अभ्यास स्वीकार्य नहुने बताए।

उनले सरकारमाथि आलोचना गर्नेहरूमाथि धरपकड र गिरफ्तारी गर्दै प्रतिशोध साँध्ने काम भइरहेको भन्दै आपत्ति जनाए।

उनले भने, “संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । तपाईंहरूलाई जनताले विश्वास गरेका छन्, त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लगाउनुस्। आँफैले बोलाएको संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउने प्रयास भयो। प्रतिशोधको गन्ध आउने गरी धरपकड शुरू गरियो, सरकारको आलोचना गर्नेहरूलाई थुन्ने काम गरियो, यो लोकतान्त्रिक पद्धति र प्रणालीका लागि कसरी स्वीकार्य हुन सक्छ ?”

प्रचण्डले सम्पत्ति विवरणबारे जनस्तरबाट प्रश्न उठेपछि पारदर्शी जवाफ दिनुपर्ने अपेक्षा हुँदाहुँदै सरकार त्यसलाई ढाकछोपतर्फ लागेको आरोप लगाए।

साथै पत्रकार र युट्युबरहरूलाई आलोचना गरेकै आधारमा पक्राउ गरिएको भन्दै त्यसप्रति पनि आपत्ति जनाए।

उनले पुराना दल सबै गलत भन्ने भाष्य निर्माण गरिएको उल्लेख गर्दै अहिले सरकार स्वयं स्वेच्छाचारिता, प्रतिशोध र संसद् छल्ने अभ्यासमा लागेको दाबी गरे।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.