Nidan Media

घरेलु मैदानमा नेपालको परीक्षा, पहिलो खेलमै स्कटल्याण्डसँग भिडन्त जारी

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खला आज (मङ्गलबार) देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू भएको छ । उद्घाटन खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोलीको सामना गरिरहेको छ । खेल बिहान ९:३० बजेदेखि शुरू भएको हो।

घरेलु मैदान र समर्थकको साथ पाएको नेपाल सुखद शुरूआत गर्ने लक्ष्यका साथ मैदान उत्रिएको छ । यसअघि ओमान र यूएई सम्मिलित शृङ्खलामा चारमध्ये तीन खेल जित्दै उत्कृष्ट लयमा रहेको नेपालको मनोबल उच्च छ । हालै नेपाल ‘ए’ टोलीले अमेरिका र स्कटल्याण्डलाई ‘क्लिन स्वीप’ गरेपछि त्यसको मनोवैज्ञानिक फाइदा राष्ट्रिय टोलीलाई पुग्ने अपेक्षा गरिएको छ ।

यस शृङ्खलाका लागि नेपाली टोलीमा एक रोचक परिवर्तन गरिएको छ । घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका ब्याटर ईशान पाण्डे सात वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् ।

बसिर अहमदको स्थानमा उनलाई टोलीमा समावेश गरिएको हो । पाण्डेले यसअघि सन् २०१९ मा सिङ्गापुरमा जिम्बावेविरुद्ध टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

नेपाली टोलीको नेतृत्व रोहित पौडेल ले गर्नेछन् । टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमालकरण केसी रहेका छन् ।

हाल नेपाल २४ खेलमा ८ जित र १४ हारसहित १८ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको अमेरिका राष्ट्रिय क्रिकेट टोली को ३६ तथा दोस्रो स्थानमा रहेको स्कटल्याण्डको ३४ अङ्क छ । अङ्क तालिकामा सुधार गर्न नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण मानिएको छ ।

विगतका भेटहरूमा स्कटल्याण्ड र अमेरिका नेपालका लागि चुनौतीपूर्ण टोलीका रूपमा रहेका छन् । सन् २०२४ मा क्यानडा र अमेरिकामा भएको शृङ्खलामा नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि सन् २०२५ मा स्कटल्याण्डमा भएको शृङ्खलामा चारमध्ये तीन खेल जित्दै प्रभावशाली पुनरागमन गरेको थियो । आजको खेलमा नेपाल सोही लय कायम राख्दै विजयी सुरुवात गर्ने योजनामा छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.