काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खला आज (मङ्गलबार) देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू भएको छ । उद्घाटन खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोलीको सामना गरिरहेको छ । खेल बिहान ९:३० बजेदेखि शुरू भएको हो।
घरेलु मैदान र समर्थकको साथ पाएको नेपाल सुखद शुरूआत गर्ने लक्ष्यका साथ मैदान उत्रिएको छ । यसअघि ओमान र यूएई सम्मिलित शृङ्खलामा चारमध्ये तीन खेल जित्दै उत्कृष्ट लयमा रहेको नेपालको मनोबल उच्च छ । हालै नेपाल ‘ए’ टोलीले अमेरिका र स्कटल्याण्डलाई ‘क्लिन स्वीप’ गरेपछि त्यसको मनोवैज्ञानिक फाइदा राष्ट्रिय टोलीलाई पुग्ने अपेक्षा गरिएको छ ।
यस शृङ्खलाका लागि नेपाली टोलीमा एक रोचक परिवर्तन गरिएको छ । घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका ब्याटर ईशान पाण्डे सात वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् ।
बसिर अहमदको स्थानमा उनलाई टोलीमा समावेश गरिएको हो । पाण्डेले यसअघि सन् २०१९ मा सिङ्गापुरमा जिम्बावेविरुद्ध टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
नेपाली टोलीको नेतृत्व रोहित पौडेल ले गर्नेछन् । टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् ।
हाल नेपाल २४ खेलमा ८ जित र १४ हारसहित १८ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको अमेरिका राष्ट्रिय क्रिकेट टोली को ३६ तथा दोस्रो स्थानमा रहेको स्कटल्याण्डको ३४ अङ्क छ । अङ्क तालिकामा सुधार गर्न नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण मानिएको छ ।
विगतका भेटहरूमा स्कटल्याण्ड र अमेरिका नेपालका लागि चुनौतीपूर्ण टोलीका रूपमा रहेका छन् । सन् २०२४ मा क्यानडा र अमेरिकामा भएको शृङ्खलामा नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि सन् २०२५ मा स्कटल्याण्डमा भएको शृङ्खलामा चारमध्ये तीन खेल जित्दै प्रभावशाली पुनरागमन गरेको थियो । आजको खेलमा नेपाल सोही लय कायम राख्दै विजयी सुरुवात गर्ने योजनामा छ ।





