काठमाडौं । अमेरिका र इरानबीच बढ्दो तनाव नियन्त्रण गर्दै युद्ध अन्त्यका लागि नयाँ कूटनीतिक पहल शुरू भएको छ ।
अमेरिकाले इरानलाई १४ बुँदे प्रस्तावसहितको एक पन्ने समझदारीपत्र पठाएपछि मध्यपूर्वको अस्थिर परिस्थितिमा नयाँ मोड आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रस्तावमा युद्धविरामदेखि आणविक कार्यक्रम सीमित गर्ने, स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गर्ने र अमेरिकी प्रतिबन्ध हटाउनेसम्मका विषय समेटिएका छन् ।
अमेरिकी अनलाइन एक्सियसका अनुसार वासिङ्टनले पठाएको प्रस्तावमाथि तेहरानले आन्तरिक समीक्षा गरिरहेको छ । अमेरिकी अधिकारीहरूले इरानबाट २४ देखि ४८ घण्टाभित्र प्रतिक्रिया आउने अपेक्षा गरेका छन् । “हामी धेरै टाढा छैनौँ, तर अझै सम्झौता भएको छैन,” एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक्सियसले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनभित्रै इरानसँग सम्झौता हुन सक्ने दाबी गरेका छन् । तर सहमति नभए इरानमाथि सैन्य कारबाही हुने चेतावनी पनि उनले दिएका छन् । ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले “अघिल्लो पटकभन्दा भयानक बमबारी” हुन सक्ने बताएका थिए ।
यसअघि पनि ट्रम्प प्रशासनले इरानसँग पटक–पटक वार्ताको प्रयास गरेको थियो । सन् २०१८ मा अमेरिका इरान आणविक सम्झौताबाट बाहिरिएपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको थियो । त्यसयता इरानमाथि आर्थिक प्रतिबन्ध कडा पारिँदै आएको छ भने इरानले पनि क्रमशः युरेनियम संवर्धन बढाउँदै आएको छ ।
हालको प्रस्तावमा ३० दिनको विस्तृत वार्ता अवधि राखिएको छ । उक्त अवधिमा स्ट्रेट अफ हर्मुज पुनः खोल्ने, नौसैनिक नाकाबन्दी हटाउने र इरानको आणविक कार्यक्रम सीमित गर्ने विषयमा सहमति खोजिने जनाइएको छ । वार्ता इस्लामावाद वा जेनेभामा हुन सक्ने चर्चा छ ।
प्रस्तावको सबैभन्दा संवेदनशील पक्ष युरेनियम संवर्धन रोक्ने समयसीमालाई मानिएको छ । अमेरिकाले कम्तीमा २० वर्ष संवर्धन रोक्न दबाब दिएको छ भने इरानले पाँच वर्षको प्रस्ताव अघि सारेको बताइएको छ ।
अहिले १२ देखि १५ वर्षसम्मको समझदारी बन्न सक्ने चर्चा भइरहेको छ । साथै, इरानले संयुक्त राष्ट्रसंघका निरीक्षकबाट आकस्मिक निरीक्षण स्वीकार गर्नुपर्ने तथा विस्तारित अनुगमन प्रणाली लागू गर्नुपर्ने सर्त पनि प्रस्तावमा समावेश छ ।
यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका प्रतिबन्ध क्रमशः हटाउने र विश्वभर रोक्का गरिएका अर्बौँ डलर बराबरका इरानी सम्पत्ति फुकुवा गर्ने प्रतिबद्धता जनाएको छ ।
तर इरानको मिसाइल कार्यक्रम, मध्यपूर्वमा इरान समर्थित सशस्त्र समूहलाई दिइँदै आएको समर्थन तथा इरानसँग रहेको उच्च प्रशोधित युरेनियमको व्यवस्थापनबारे प्रस्ताव मौन रहेको रोयटर्सले जनाएको छ ।
इरानभित्र पनि प्रस्तावबारे मतैक्य देखिएको छैन । शक्तिशाली इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स र राजनीतिक नेतृत्वबीच युद्ध र सम्झौताबारे फरक धारणा रहेको बताइएको छ ।
इरानी संसदका अधिकारीहरूले प्रस्तावलाई “अमेरिकी इच्छासूची”को संज्ञा दिएका छन् भने संसदका सभामुख मोहम्मद बाघेर गालीबाफले अमेरिकाले हर्मुज नाका खोल्न नसकेपछि प्रचारबाजी गरिरहेको आरोप लगाएका छन् ।
विश्लेषकहरूले भने यो प्रस्ताव सफल भए मध्यपूर्वमा लामो समयदेखिको तनाव कम हुन सक्ने, असफल भए नयाँ सैन्य टकरावको जोखिम बढ्ने बताएका छन् ।




