Nidan Media

सात वर्षमा अर्थतन्त्र दोब्बर बनाउने लक्ष्यसहित सरकार आक्रामक: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था करिब १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको बताएका छन्। बाह्रखरी मिडियाद्वारा आयोजित एक कार्यक्रममा उनले अब नेपालले आर्थिक रूपान्तरणतर्फ ठूलो छलाङ मार्ने अवसर आएको उल्लेख गरे।

उनका अनुसार सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी करिब एक हजार पाँच सय अमेरिकी डलर थियो, जुन स्तरमा अहिले नेपाल रहेको छ। यसलाई उनले नेपालको ‘आर्थिक प्रस्थान बिन्दु’ भन्दै अब द्रूत विकासको सम्भावना उच्च रहेको दाबी गरे।

वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकार पाँच वर्षे पूर्ण कार्यकाल चल्ने दाबी गर्दै नीतिगत स्थिरताले लगानीकर्तामा विश्वास बढाउने बताए। उनका अनुसार स्थिर नीतिले निजी लगानी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

भौगोलिक रूपमा भूपरिवेष्ठित नेपालका लागि डिजिटलाइजेसन नै प्रमुख समाधान हुने उनको भनाइ छ।

सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिनका लागि सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको उल्लेख गर्दै उनले यसले सेवा प्रवाहमा ठूलो सुधार ल्याउने विश्वास व्यक्त गरे।

उनले ‘तौलरहित र दूरीरहित अर्थतन्त्र’को अवधारणा कार्यान्वयनमा लैजाने समय आएको बताए।

विगतमा नीतिगत कब्जा र भ्रष्टाचारका कारण व्यावसायिक वातावरण कमजोर बनेको उल्लेख गर्दै उनले अब त्यसलाई अन्त्य गर्ने प्रतिबद्धता जनाए।

उनका अनुसार आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ, जसमा लगानी सुरक्षा, सम्पत्ति अधिकार र करार कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनेछ।

इमान्दार व्यवसायीलाई राज्यले पूर्ण संरक्षण गर्ने तर कानून कार्यान्वयनमा भने कठोर रहने नीति अपनाइने उनले बताए।

वाग्लेले आगामी सात वर्षभित्र प्रतिव्यक्ति आम्दानी तीन हजार अमेरिकी डलर पुर्‍याउने र अर्थतन्त्रको आकार करिब सयअर्ब डलरमा पुर्‍याउने लक्ष्य राखिएको जानकारी दिए।

भारतले पछिल्लो दशकमा हासिल गरेको ९-१० प्रतिशत आर्थिक वृद्धिदर नेपालले पनि पछ्याउन सक्ने सम्भावना रहेको उनको भनाइ छ।

उनले पर्यटन, जलविद्युत र उच्च मूल्यका कृषि उत्पादनलाई नेपालको प्रमुख प्रतिस्पर्धी क्षेत्रका रूपमा प्रस्तुत गरे।

साथै रुग्ण कानूनहरूको खारेजी, प्रशासनिक झन्झटको अन्त्य र लगानीमैत्री वातावरण निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता रहेको दोहोर्‍याए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.