काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने चेतावनी दिएका छन्।
पाम बिचेसस्थित एक डिनर कार्यक्रममा बोल्दै ट्रम्पले क्युबामा बढ्दो समस्या देखाउँदै यस्तो कदम चाल्नुपर्ने बताएका हुन्।
‘क्युबालाई लगभग तुरुन्तै कब्जा गर्नेछौँ। क्युबामा समस्याहरू छन्, हामी पहिले समाप्त गर्नेछौँ,’ उनले भने।
यसअघि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा क्युबा सरकारका नीति र गतिविधिहरू अमेरिकाका लागि ‘असामान्य र असाधारण खतरा’ भएको दाबी गरिएको थियो।
उक्त विज्ञप्तिमा ती गतिविधिहरू स्वतन्त्र र लोकतान्त्रिक मूल्य-मान्यताविरुद्ध रहेको उल्लेख गरिएको छ।
यता क्युबाली सरकारले भने ट्रम्प प्रशासनले लगाएका नयाँ प्रतिबन्धहरूलाई कडा रूपमा अस्वीकार गरेको छ।
क्युबाले ती प्रतिबन्धलाई ‘क्युबाली जनतामाथि सामूहिक दण्ड’ दिने उद्देश्यले गरिएको एकतर्फी निर्णय भन्दै आलोचना गरेको हो।
क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकी कदम अन्तर्राष्ट्रिय कानूनविरुद्ध रहेको दाबी गरेका छन्।
उनले भने, ‘अमेरिकी प्रयासहरू बाह्य हस्तक्षेप हुन् र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन गर्ने खालका छन्।’
ह्वाइट हाउसले क्युबाप्रतिको नीति थप कडा बनाउने संकेत दिएको केही घण्टापछि ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।
यसअघि पनि ट्रम्पले क्युबाली सरकारमाथि प्रतिबन्ध विस्तार गर्ने आदेश दिएका थिए।




