Nidan Media

पेट्रोलियम पदार्थको मूल्य समायोजन: पेट्रोलको घट्यो, डिजेल-मट्टितेलको भारी कटौती, हवाइ इन्धनको भने महँगियो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२ रुपैयाँले घटाएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा देखिएको उतारचढाव र आपूर्तिको अवस्थालाई आधार मानेर मूल्य पुनः समायोजन गरिएको निगमले जनाएको छ ।

तर, हवाइ इन्धनको मूल्य भने बढाइएको छ । निगमका अनुसार आन्तरिक उडानका लागि प्रयोग हुने हवाइ इन्धनको मूल्य प्रतिलिटर सात रुपैयाँले बढाइएको छ ।

अन्तर्राष्ट्रियतर्फ पनि काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

नयाँ दर अनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ ।

यसअघि काठमाडौँ, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपैयाँ थियो ।

यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य २१८ रुपैयाँबाट घटेर २१६ रुपैयाँ कायम भएको छ ।

साथै निगमका अनुसार एलपी ग्यासकाे भाउ प्रतिसिलिन्डर १५० रुपैयाँले बढेको छ ।

समायोजनपछि अब पूरा सिलिन्डर खाना पकाउने ग्यासको मूल्य दुई हजार १६० रुपैयाँ पुगेको छ ।

नयाँ मूल्य समायोजनपछि उपभोक्ता स्तरमा पेट्रोल र डिजेलको मूल्यमा केही राहत देखिएको छ ।

मूल्य घटेसँगै ढुवानी तथा यातायात क्षेत्रमा पर्ने लागत दबाब केही कम हुने अपेक्षा गरिएको छ ।

निगमले नियमित अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वचालित प्रणालीमार्फत मूल्य समायोजन गर्दै आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.