Skip to main content

Nidan Media

इरानको नयाँ प्रस्तावमा ट्रम्पको असन्तुष्टि

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान तनाव अन्त्य गर्ने उद्देश्यले तेहरानले राखेको पछिल्लो कूटनीतिक प्रस्तावलाई अस्वीकार गर्ने संकेत गरेका छन् ।

सीएनएनको रिपोर्ट अनुसार, ट्रम्पले इरानको उक्त प्रस्तावमाथि असन्तुष्टि व्यक्त गरेका हुन् ।

इरानी प्रस्तावमा हर्मुज जलमार्गबाट हुने समुद्री यातायातलाई पुनः शुरू गर्ने उल्लेख छ ।

सोमबार राष्ट्रिय सुरक्षा सहयोगीहरूसँगको उच्चस्तरीय ब्रिफिङमा राष्ट्रपति ट्रम्पले यसबारे आफ्नो आरक्षण व्यक्त गरेको स्रोतहरूले जनाएका छन् ।

प्रशासनिक अधिकारीहरूले इरानी आणविक संवद्र्धन र बम बनाउन मिल्ने युरेनियमको भण्डारको मुद्दालाई सम्बोधन नगरी महत्त्वपूर्ण जलमार्ग खोल्न दिँदा इरानमाथि रहेको अमेरिकी कूटनीतिक दबाब समाप्त हुने चिन्ता व्यक्त गरेका छन् ।

यद्यपि, जलमार्ग बन्द रहिरहँदा ऊर्जाको मूल्य बढ्ने र अमेरिकी इन्धनको लागत थप महँगो हुने जोखिम पनि उत्तिकै छ ।

सीएनएनका अनुसार, अमेरिकी प्रतिनिधिहरू इरानी सरकारभित्रको आन्तरिक कलहप्रति पनि सचेत छन् ।

इरानमा वास्तवमा कसको हातमा निर्णय लिने अन्तिम शक्ति छ भन्नेमा अमेरिका अझै स्पष्ट छैन ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको प्रस्ताव सोचेभन्दा केही सकारात्मक भए पनि त्यहाँको नेतृत्व र स्थिरतामाथि प्रश्न उठाएका छन् ।

उनले सर्वोच्च नेता मोज्तबा खामेनीको धार्मिक र राजनीतिक अधिकारमाथि प्रश्न गर्दै सोधेका छन,‘के उनीसँग वास्तवमै सर्वोच्च नेताको रूपमा काम गर्ने अख्तियारी छ ? के उनी आँफैले निर्णय गरिरहेका छन् वा उनको सट्टामा अरू कसैले ?’

कूटनीतिक गतिरोधका बीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले सोमबार मस्को पुगेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।

सो क्रममा अराघचीले मध्यपूर्वमा शान्ति वार्ता असफल हुनुको दोष वासिङ्टनमाथि थोपर्दै अमेरिकाको कडा अडान र अत्यधिक मागले गर्दा प्रगति हुन नसकेको दाबी गरे ।

ह्वाइट हाउसकी सहायक प्रेस सचिव ओलिभिया वेल्सले यी संवेदनशील कूटनीतिक छलफलहरू भएको पुष्टि गर्दै भनिन,‘राष्ट्रपतिले भन्नुभएझैं, अमेरिकासँग सबै कार्डहरू सुरक्षित छन् । हामी अमेरिकी जनताको हितलाई प्राथमिकतामा राखेर मात्र सम्झौता गर्नेछौँ र इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन दिने छैनौँ ।’

हाललाई अमेरिका र इरानबीचको शान्ति वार्तामा कुनै ठोस नतिजा निस्कन सकेको छैन, यद्यपि ब्याक-च्यानल कूटनीति भने जारी रहेको बताइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.