काठमाडौँ । सरकारको निर्णयअनुसार आज वैशाख १५ गतेदेखि देशभरका विद्यालयहरूमा नयाँ शैक्षिक सत्र २०८३ औपचारिक रूपमा शुरू भएको छ । यसअघि वैशाख २ गतेदेखि शैक्षिक सत्र शरू हुने गरेको भए पनि यस वर्षदेखि सरकारले मिति परिवर्तन गरी वैशाख १५ गते तय गरेको हो ।
निजी विद्यालयहरूले परीक्षा नतिजा आउनुअघि नै भर्ना लिने र शैक्षिक सत्र शुरू नहुँदै शुल्क उठाउने प्रवृत्ति रोक्न सरकारले नयाँ कार्यतालिका लागू गरेको हो । तर कतिपय स्थानीय तहहरूको सहजीकरणमा यसअघि नै भर्ना प्रक्रिया शुरू भइसकेको पनि पाइएको छ ।
यसैबीच सर्वोच्च अदालतले शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सत्र शुरू भएपछि मात्र भर्ना प्रक्रिया सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले परीक्षा नतिजा र आवश्यक प्रमाणपत्र प्राप्त नभई भर्नासम्बन्धी सूचना प्रकाशन नगर्न निर्देशन दिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि निजी विद्यालयहरूले कानूनविपरीत लिएका भर्ना तथा अन्य अतिरिक्त शुल्क फिर्ता गराउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।
‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२’ विपरीत लिइएका शुल्क फिर्ता गराउन मन्त्रालयले आग्रह गरेको छ ।
शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले पनि वार्षिक परीक्षाको नतिजा प्रकाशनपछि मात्र भर्ना कार्यक्रम सञ्चालन गर्न यसअघि नै सूचना जारी गरिसकेको छ । नयाँ शैक्षिक सत्र शुरू भएसँगै देशभरका विद्यार्थीहरू औपचारिक अध्ययनमा जोडिने भएका छन् ।




