काठमाडौं । हाल मुलुकमा जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा मिश्रित परिवर्तन देखिएको छ।
अहिले कोशी प्रदेशका तराई तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
साथै कोशी प्रदेशको तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैबीच, मधेसदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्र, उपत्यका र खोँचहरूमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ।
विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर (लु) चल्न सक्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति भने देशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले बढ्दो गर्मी तथा सम्भावित मेघगर्जन र चट्याङबाट जोगिन मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर दैनिक गतिविधि सञ्चालन गर्न सर्वसाधारणलाई सुझाव दिएको छ।




